अन्तराष्ट्रिय बेपत्ता दिवसका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं भदौ १४ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले यही अगष्ट ३० तारिख अर्थात् भदौ १४ गतेका दिन बलपूर्वक बेपत्ता पारिएका व्यक्ति सम्बन्धी अन्तराष्ट्रिय दिवस (International Day of the Victims of Enforced Disappearances- 2016) को अवसरमा राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । माननीय शान्ति तथा पुनर्निर्माण मन्त्री श्री सीतादेवी यादवको प्रमुख अतिथ्यता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा विशेष अतिथि माननीय महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठ र अध्यक्षता आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकले गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शान्ति तथा पुनर्निर्माण मन्त्री श्री सीतादेवी यादवले आफू पनि द्वन्द्वपीडित भएकोले पीडितहरुको मर्म बुझ्ने भन्दै आयोगलाई पीडितमैत्री बनाउन आवश्यक ऐन÷कानूनहरु निर्माणका लागि पहल गर्ने बताउनुभयो । त्यसैगरी महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने तथा पीडितले न्याय पाउने वातावरण सृजना गर्नुपर्ने बताउनुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष श्री सूर्यकिरण गुरुङ्गले आयोगको समयावधि छोटिंदै गएकोले आवश्यक ऐन÷कानूनहरु यथाशक्य छिटो निर्माण गर्नुपर्ने र आयोगले सरकारलाई बुझाएको अन्तरिम प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकले पनि आयोगले निष्पक्ष रुपमा गर्ने छानविनको काममा सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बेपत्ता पीडित परिवारका सदस्यहरुसंग एकघण्टासम्म खुला छलफल गरेपश्चात् बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य श्री बिजुल वि.क. दुलाल, मानव अधिकारकर्मी श्री कपिल श्रेष्ठ, कानून व्यबसायी श्री गोविन्द बन्दी, राज्यद्वारा बेपत्ता योद्धा परिवारका केन्द्रिय सल्लाहकार श्री एकराज भण्डारी तथा बेपत्ता परिवार राष्ट्रिय संजालका अध्यक्ष श्री राम भण्डारी समेतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बेपत्ता पीडित परिवार, मानव अधिकारकर्मी, कानून व्यबसायी, न्याय तथा मानवअधिकारका क्षेत्रमा कार्यरत संघ÷संस्था, पत्रकार तथा आयोगका पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य दिंदै सो कार्यक्रमको सान्दर्भिकता माथि आयोगका सचिव श्री महेश शर्मा पौडेलले प्रकाश पार्नुभएको थियो । संयुक्त राष्ट्र संघले सन् २०१० मा अन्तराष्ट्रिय बेपत्ता दिवस मनाउने निर्णय गरेको सन्दर्भमा यस आयोगले पनि नेपालमा विगतमा भएको सशस्त्र द्वन्द्वको अविधमा बेपत्ता पारिएका व्यक्तिको सम्मान र स्मरण गर्दै अगस्ट ३० लाई गत बर्षदेखि बलपूर्वक बेपत्ता पारिएका व्यक्ति सम्बन्धी अन्तराष्ट्रिय दिवसको रुपमा मनाउंदै आएको छ ।