आयोगको आ.ब.२०७८/७९ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

मिति २०७९/०५/०५ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.ब.२०७८/७९ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भयो । आयोगमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको सो कार्यक्रममा आयोगमा रहेका प्रशासन तथा योजना शाखा, कानुन तथा मानव अधिकार शाखा, सञ्चार तथा अभिलेख शाखा,उजुरी छानविन तथा तामेली शाखा र आर्थिक प्रशासन शाखाका साथै आयोगमा विभिन्न अनुसन्धान अधिकारीको नेतृत्वमा रहेका ४ वटा टोलीबाट क्रमशः १ नं प्रदेश/कर्णाली प्रदेश, मधेश/बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी/सुदुरपश्चिम प्रदेशको तर्फबाट आ.ब.२०७८/७९ मा शाखागत तथा टोलीगत रुपमा सम्पादन गरिएका कार्यहरु, कार्यसम्पादन गर्दा आइपरेका समस्याहरु तथा समस्या समाधानका लागि सुझावहरु समेटी प्रस्तुति गरिएको थियो । सोही क्रममा आयोगका सहसचिव द्वय श्री रोशनी कुमारी श्रेष्ठ र श्री कृष्ण प्रसाद पुडासैनीले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो । तत् पश्चात आयोगका सचिव श्री श्यामकुमार भट्टराईबाट निर्देशनात्मक मन्तव्यसहित समीक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

समीक्षा कार्यक्रम सम्पन्न भएपश्चात आयोगका निवर्तमान पदाधिकारीहरु श्री युवराज सुवेदी, श्री सुनिल रञ्जन सिंह र श्री सरिता थापाले संयुक्त रुपमा आयोगद्वारा आ.ब.२०७८/७९ मा प्रकाशन गरिएको सत्यको खोजी नामक जर्नल वर्ष ४ अंक १ को विमोचन गर्नुभएको थियो । उक्त कार्यक्रममा जर्नलमा लेख रचना उपलब्ध गराई सहयोग गर्नुहुने पीडित प्रतिनिधिहरु, कानुन व्यवसायीहरु, मानव अधिकारकर्मीहरु लगायतका लेखकहरुको समेत सहभागिता रहेको थियो । जर्नलको प्रकाशन सम्बन्धमा सम्पादन मण्डलको संयोजक तथा निवर्तमान सदस्य श्री सरिता थापाले आफ्नो मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक श्री यज्ञ प्रसाद अधिकारीले जर्नलको सम्बन्धमा संक्षिप्त टिप्पणी गर्नुभएको थियो ।

विमोचन कार्यक्रम सम्पन्न भएपश्चात आयोगका सम्पूर्ण कर्मचारीहरु, जर्नल प्रकाशनको लागि लेख रचना उपलब्ध गराउनुहुने लेखकहरुको सहभागितामा आयोगका निवर्तमान पदाधिकारीहरुको विदाई कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।होटल साग्रिला ब्लु, बखुन्डोलमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण आयोगका नायव सुब्बा श्री बाबुराम पन्थीले गर्नुभएको थियो ।