कर्मचारीद्वारा सम्पादित दैनिक कार्यलाई सुपरिवेक्षकसमक्ष पेश गरी पृष्ठपोषण प्राप्त गर्ने कार्यको थालनी


बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा निजामती सेवा नियमावली, २०५० को नियम ९ को उपनियम (१) तथा अनुसूची ४ बमोजिम तथा नेपाल सरकारका सचिव बैठकको निर्णयानुसार यस आयोगका सचिव र सह-सचिव एवं सह-सचिव र उपसचिव तथा शाखा अधिकृतहरु बीच चालू आ.व. २०७६/७७ को लागि कार्य सम्पादन सम्झौता गरियो। सम्झौता अनुरूप कार्य गर्ने प्रतिबद्धता बमोजिम कर्मचारीहरूलाई दैनिक कार्य सम्पादन पुस्तिका उपलब्ध गराई आफूले सम्पादन गरेका प्रमुख कार्य एवं उपलब्धिहरू दैनिक रूपमा उल्लेख गर्ने र सम्पादित कार्यहरूलाई सुपरिवेक्षकसमक्ष पेश गरी पृष्ठपोषण प्राप्त गर्ने कार्य शुरु भएको छ ।

साथै यस आयोगले हाल व्यक्ति बेपत्ता पारिएको घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यम, रेडियो, पत्र-पत्रिकामा प्रकाशित जानकारी/ सूचनाहरूलाई संकलन गरी सम्बन्धित उजूरी मिसिलमा राख्ने कार्यलाई निरन्तरता दिदै आएको छ । व्यक्ति बेपत्ता पार्ने घटनाका सम्बन्धमा  राष्ट्रिय मानव अधिकार आयोगमा करिब ९७० उजूरी परेको सम्बन्धमा सो आयोग र यस आयोग बीच सहकार्य गरी उक्त उजुरीहरूको अध्ययन प्रतिवेदन पेश गर्नको लागि एक संयुक्त कार्य समिति गठन गरी कार्य प्रारम्भ गरिएको छ ।