कानून मन्त्री र आयोगका पदाधिकारी बीच छलफल कानुन संशोधनका लागि ध्यानाकर्षण

यस आयोगका पदाधिकारी र माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफे बीच आषाढ १२ गते भेटघाट तथा छलफल सम्पन्न भएको छ । भेटघाटका अवसरमा आयोगका तर्फबाट यसअघि २०७६ साल माघ २६ गते ऐन संशोधनका सम्बन्धमा मन्त्रालयलाई दिइएका सुझावहरुप्रति ध्यान आकर्षण गराउँदै सर्वोच्च अदालतका फैसला, अन्तरार्ष्ट्रिय मानव अधिकार कानून एवं मानवीय कानूनका प्रावधानहरु आत्मसात् गर्दै ‘बेपत्ता पारिएका व्यक्ति, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गरी पीडितमैत्री बनाउन माग गरिएको थियो । संशोधित ऐन आएमा मात्र आयोगले सम्पादन गरिरहेका कार्यलाई परिणाममुखी बनाउन सकिने तर्फ सचेत गराउँदै त्यसका लागि भूमिका खेल्न समेत आग्रह गरिएको थियो । उक्त भेटघाटमा आयोगका तर्फबाट अध्यक्ष श्री युवराज सुवेदी सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह र श्री सरिता थापाको उपस्थिति रहेको थियो । स्मरणीय छ, यस अघि पनि आयोगका तर्फबाट माननीय परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई समेत भेटगरी अन्तराष्ट्रिय कानून र सर्वोच्च अदालतबाट पटक-पटक भएका फैसला अनुरुप ऐन संशोधनका लागि आग्रह गरिएको थियो ।