निजामती सेवा दिवस – २०७८ को अवसरमा अनुसन्धान विज्ञ तथा कर्मचारीहरु सम्मानित

 

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले २०७८ भाद्र २२ गते निजामती सेवा दिवस-२०७८ का अवसरमा आयोजित एक कार्यक्रममा आयोगमा कार्यरत विज्ञ तथा कर्मचारी गरी १० जनालाई सम्मानित गरेको छ । “व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” नाराका साथ देशव्यापी रुपमा मनाईएको निजामती सेवा दिवसको अवसर पारेर आयोगले कुटनीतिक शिष्टाचार (Diplomatic Etiquette and Protocol) तथा भोजन शिष्टाचार (Dining Etiquette) सम्वन्धी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।

आयोगका श्रीमान् अध्यक्ष युवराज सुवेदीज्यूको अध्यक्षतामा जलस्रोत तथा सिंचाई विभाग, जावलाखेलको सभाहलमा आयोजित उक्त कार्यक्रममा आयोगका पदाधिकारीज्युहरु,सचिवज्यू, सहसचिवज्यू, अनुसन्धान विज्ञहरुलगायत आयोगका सम्पुर्ण कर्मचारीहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको पहिलो सत्रमा कुटनीतिक शिष्टाचार (Diplomatic Etiquette and Protocol) सम्वन्धी विषयमा परराष्ट्र मन्त्रालयका उपसचिव श्री रेवतीरमण पौडेलज्यू र भोजन शिष्टाचार (Dining Etiquette) सम्वन्धी विषयमा Nepal Academy of Tourism and Hotel Management(NATHM) का वरिष्ठ प्रशिक्षक श्री विनोद अर्यालज्यूले सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रमले पदाधिकारी तथा कर्मचारीको संस्थागत, व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत उपयोगी हुने खालको सीप विकास गर्ने हुँदा उक्त कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको सहभागीहरुले प्रतिक्रिया जनाउनुभएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा आ.ब.२०७७/७८ मा उत्कृष्ट कार्यसम्पादन भएका आयोगका उपसचिवहरु श्री नवराज आचार्य र श्री ज्योति श्रेष्ठ, शाखा अधिकृतहरु श्री अन्जना पोख्रेल र श्री सुमन अधिकारी, कम्प्युटर अपरेटरहरु श्री खिमा भुषाल र श्री दिपा रंजितकार, हलुका सवारी चालक श्री श्रीमान डंगोल तथा कार्यालय सहयोगी श्री पुष्पा राई गरी ८ जना कर्मचारीहरुलाई नगद पुरस्कार र प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । यसै गरी आयोगको अनुसन्धानमा महत्वपुर्ण योगदान पुर्याउने अनुसन्धान विज्ञ द्वय श्री कुमुदप्रसाद शर्मा र श्री केदारप्रसाद पोख्रेललाई मायाको चिनो र प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रमका अन्त्यमा, कार्यक्रमका अध्यक्षले पुरस्कृत कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै पुरस्कृत नहुने कर्मचारीहरुको समेत आयोगमा उत्तिकै योगदान रहेको र उच्च मनोवल लिएर आयोगको कार्यसम्पादन गर्न अनुरोध गर्नुभएको थियो। कार्यक्रमको विषयवस्तु अत्यन्तै सान्दर्भिक र महत्वपुर्ण रहेको कुरा उल्लेख गर्दै वहाँले आगामी दिनमा समेत यसप्रकारका कार्यक्रमहरु आयोजना गर्ने सुझावका साथ सहभागीहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गर्नुभएको थियो।