नेपालका लागि डेनमार्कका महामहिम राजदुतसँग छलफल


माघ १३ गते  काठमाडौं ।बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो कार्यालय पुल्चोक ललितपुरमा नेपालका लागि डेनमार्कका राजदुत किस्टेन गिलान सँग छलफल गरेको छ । सो छलफल कार्यक्रममा डेनिस राजदुतावासका काउन्सिलर मेरि थ्रेन तथा डानिडा अन्तराष्ट्रिय विकास सहयोगका वरिष्ठ कार्यक्रम अधिकृत मोहनलाल आचार्य समेत सो छलफलमा सहभागी हुनु भएको थियो ।

आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा आयोगका सचिव महेश शर्मा पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । आयोगका सदस्य प्रा.डा.विष्णु पाठकले आयोगले हाल सम्म सम्पादन गरेका कार्यहरु¸ आयोगलाई परेका अप्ठ्याराहरु तथा आगामी  दिनमा आयोगले गर्ने  कार्यका सम्बन्धमा जानकारी प्रस्तुत गर्नु भएको थियो । छलफल कार्यक्रममा आयोगका सदस्यहरु  विजुल बि.क. दुलाल¸नर कुमारी गुरुङ्ग र आई बहादुर गुरुङ्ग समेत सहभागी हुनु भएको थियो ।

राजदुत किस्टेन गिलानले आयोगलाई आवश्यक नियमावली समयमा पारित नहुनुको कारणबारे जिज्ञासा राख्नु भएको थियो । जवाफमा आयोगका पदाधिकारीहरुले नियमावली यथाशिघ्र पारित गर्न घच्घच्याउने क्रममा महान्यायाधिवक्ता¸ शान्ति मन्त्री¸ कानुन मन्त्री¸ प्रधानमन्त्रीदेखि राष्ट्रपतिलाई समेत भेटि अनुरोध गरेको उल्लेख गर्दै नियमावली छिटो पारित गर्न सम्बन्धित पक्षलाई घच्घच्याउन  कुनै कसर बाँकी नराखेको  बताउनु भएको थियो । नियमावली पारित हुने बितिकै आफूहरु तदारुपताका साथ आयोगको मुख्य काममा लाग्ने उल्लेख गर्दै विश्व समुदायलाई नमुना हुने गरी कार्य गर्न सक्षम रहेको बताउनु भएको थियो । राजदुत किस्टेन गिलानले व्यक्ति बेपत्ता पारिएका घटनाहरुको छानविन कार्यमा आयोगले माग गरेमा अनुभव आदान प्रदान देखि अन्य आवश्यक सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नु भएको थियो ।