बयान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/०९/१२ देखि १४ गते सम्म आयोगमा कार्यरत कर्मचारीहरुको लागि बयान सम्बन्धी विधि प्रक्रिया विषयवस्तुको ज्ञान दिलाउन बयान सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरियो।

उक्त तालिम कार्यक्रममा श्रोत व्यक्तिको रुपमा राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान प्रमुख श्री श्यामबाबु काफ्ले, मानवअधिकारकर्मी श्री श्रीराम अधिकारी, आयोगका सह-सचिव श्री कृष्णप्रसाद पुडासैनी र आयोगका पूर्व सह-सचिव श्री कुमुद प्रसाद शर्मा रहनु भएको थियो।

तालिम कार्यक्रमको पहिलो दिनको पहिलो सत्रमा संक्रमणकालीन न्यायको छानविन प्रकृया र अन्तराष्ट्रिय अभ्यासमा श्रीराम अधिकारीले प्रस्तुति दिनुभएको थियो। दोश्रो र तेश्रो सत्रमा स्वच्छ सुनुवाई र बयानको आवश्यकता र बयानको प्रकृया र सुरक्षा संवेदनशिलता एवं गोपनियता सम्बन्धी विषयमा कुमुदप्रसाद शर्माले प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमको दोश्रो दिनको पहिलो सत्रमा नमुना बयान सम्बन्धी अध्ययन र छलफल भएको थियो। सोही दिनको अर्को सत्रमा कानूनी व्यवस्था र बयानको प्रकृया विषयमा श्री कृष्ण प्रसाद पुडासैनीले र राष्ट्रिय मानव अधिकार आयोगबाट गराईने बयानको अभ्यास र अनुभवको बारेमा मानव अधिकार आयोगका अनुसन्धान प्रमुख श्री श्यामबाबु काफ्लेले प्रस्तुति दिनुभएको थियो। तालिममा सहभागीहरुले सामूहिक छलफल र आफुलाई लागेका जिज्ञासा समेत राखेका थिए।

तालिम कार्यक्रमको तेश्रो दिनमा श्रोत व्यक्ति श्री कुमुदप्रसाद शर्माले सहभागी कर्मचारीहरुलाई समूहमा विभाजन गरी बयान सम्बन्धी case study दिई नमुना बयानको अभ्यास समेत गराईएको थियो। कर्मचारीहरुले आ-आफ्नो समूहबाट लिइएका नमुना बयानको प्रस्तुतिकरण समेत गरिएको थियो। भक्तपुर स्थित भिलेज हाइल्याण्ड रिसोर्टमा सम्पन्न सो तालिम कार्यक्रमको सहजिकरण आयोगका उप-सचिव श्री ज्योति श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको अन्तमा  आयोगका सह-सचिव श्री कृष्णप्रसाद पुडासैनीले यस्ता कार्यक्रमबाट कर्मचारीको क्षमता अभिवृद्वि हुने र आयोगको छानबिन प्रकृयामा सहयोग पुग्ने विचार ब्यक्त गर्दै प्रशिक्षकहरुलाई आभार प्रकट गरी सहभागी सबैलाई धन्यवाद दिई कार्यक्रमको समापन गर्नुभएको थियो।