बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस, २०१५ को उपलक्ष्यमा कार्यक्रमको आयोजना


बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस, २०१५ को उपलक्ष्यमा बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगद्वारा २०७२ भाद्र १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरियो । माननीय शान्ति तथा पुनर्निर्माण, कानून न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री माननीय श्री नरहरि आचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकज्यूले गर्नु भएको थियो । कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरु, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, मानव अधिकार कर्मी, नायव महान्यायाधिवक्ता, नेपाल सरकारका सचिवहरु, वेपत्ता पारिएका ब्यक्तिको परिवारका प्रतिनिधि, ICTJ तथा ICRC का प्रतिनिधिहरु, एवं पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।

करिव डेढ घण्टा सञ्चालन भएको सो कार्यक्रममा वेपत्ता पारिएका ब्यक्तिको परिवारको तर्फवाट श्री रामकुमार भण्डारी, मानव अधिकार कर्मी श्री चरण प्रसाई, सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष श्री सुर्यकिरण गुरुङ्गले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको वारेमा बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगका सचिव श्री महेश शर्मा पौडेलले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय शान्ति तथा पुनर्निर्माण मन्त्री श्री नरहरि आचार्यज्यूले कार्यक्रममा वक्ताहरुले राख्नु भएका केही जिज्ञासाका सम्बन्धमा प्रकाश पार्दै वर्तमान कानुनमा कुनै कुरा अपुग भएमा नियमित प्रकृया अनुसार गर्दै जानेछ भन्नु भयो । वेपत्ता हुंदाको पीडा मुत्युभन्दा पनि वढी हुने भएकोले पीडकलाई कारवाही कानून र अदालती प्रकृया वमोजिम नै हुने, आयोगको लागि आवश्यक साधन श्रोत नेपाल सरकारले नै उपलव्ध गराउने छ ।

कार्यक्रमको अन्त्यमा आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकज्यूले बेपत्ता पार्ने कार्यमा संलग्न पीडकलाई कानुनको दायरामा ल्याउने गरी यथाशिघ्र ऐनको निर्माण हुनु पर्ने आफ्नो मन्तव्य सहित कार्यक्रम समाप्तीको जानकारी गराउनु भएको थियो । बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस, २०१५ अगस्ट ३० गते सार्वजनिक विदाको दिन परेकोले सो को भोलीपल्ट बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोगका सह–सचिव कुमुदप्रसाद शर्माले सञ्चालन गर्नु भएको थियो ।