बेपत्ता पीडितको प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधि र पीडित परिवारजनसँग अन्तर्क्रिया कार्यक्रम


मिति २०७६/०१/१५ गतेका दिन आयोगको सभाहलमा आयोगका सचिव श्री कृष्णजीवी घिमिरेज्यूको अध्यक्षतामा बेपत्ता पीडितको प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधि र पीडित परिवारजनको उपस्थितिमा आयोगमा रहेका उजूरी व्यवस्थापन आयोगबाट भए गरेका कामकारवाही एवं हालका गतिविधिहरुका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आयोगका सह-सचिव श्री प्रेमकुमार श्रेष्ठले प्रकाश पार्नुभएको थियो । उजूरी फाइलको सुरक्षाका सम्बन्धमा आयोगले अपनाएका उपायहरु वारे जानकारी गराउदैँ उजूरी सुरक्षा एवं गोपनीयताका सम्बन्धमा आयोग संवेदनशील रहेको जानकारी उँहाले गराउनु भयो ।छलफलका क्रममा द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष श्री सुमन अधिकारीले बेपत्ता पारिएका व्यक्तिको वास्तविक अवस्थाका वारेमा जिज्ञासा राख्दै आयोगको कार्ययोजना कार्यान्वयनमा जोड दिनुभयो। द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष श्री भागिराम चौधरीले उजूरी दिन छुटेका पीडितका लागि आयोगले के व्यवस्था गरेको छ भन्ने जिज्ञासा राख्दै आयोगले प्रत्येक महिनामा पीडितहरुसँग अन्तरक्रिया गर्नुपर्नेमा जोड दिनु भयो।न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका महासचिव श्री जनक बहादुर राउतले फाइलको सुरक्षा व्यवस्थापनका विषयमा आयोगले कसरी काम गरिरहेको छ भन्ने विषयमा जिज्ञासा राख्नु भएको थियो। कार्यक्रममा द्वन्द्व पीडित साझा चौतारीका उपाध्यक्ष मैना कार्की एवं परिवारजनहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उठेका जिज्ञासाहरु बारेमा आयोगका सचिवज्यूले संवोधन गर्नु भएको थियो । उहाँले उजूरी फाइल सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाएकोले सुरक्षाका सम्बन्धमा आश्वस्त हुन आग्रह गर्नु भयो। यस किसिमको अन्तर्क्रिया कार्यक्रमले पीडित र आयोगवीच आपसी विश्वास र सहर्काय बढ्ने विश्वास व्यक्त  गर्दै आगामी दिनमा पनि पीडित प्रतिनिधि एवं परिवारजनसँग नियमित सम्पर्कमा रहने कुरा बताउनु भयो।आयोगका उप सचिव श्री निराजन घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।