बेपत्ता पीडित संघ संस्थाका प्रतिनिधि ,पीडित एवं पीडित परिवारजनसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।


2020-02-13

मिति २०७६  फाल्गुण १ गते यस आयोगको सभाहलमा बेपत्ता पीडित संघ संस्थाका प्रतिनिधि तथा पीडित परिवारजनहरु वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आयोगका अध्यक्ष श्री युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह, श्री सरिता थापा तथा सचिव श्री कृष्णजीवी घिमिरेको साथै आयोगमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा द्वन्द्व पीडित संघ संस्थाका प्रतिनिधिहरू तथा पीडित परिवारका सदस्यहरूले कानूनको संशोधन गरी कार्य गरिनु पर्ने, बेपत्ता पारिएका व्यक्तिहरूको सत्य तथ्य पत्ता लगाई अवस्था सार्वजनिक गर्नुपर्ने, पीडितलाई परिचय पत्रको व्यवस्था गरिनु पर्ने, पीडित परिवारका सन्तानलाई शिक्षा दीक्षा, रोजगारी एवं स्वास्थ्य उपचारको सुविधा हुनुपर्ने, परिपूरणका लागि सिफारिस गर्नुपर्ने लगायतका विषयमा आफ्ना भनाइहरू राख्नु भएको थियो।

कार्यक्रममा सहभागीहरूबाट उठाईएका विषय, माग र समस्याहरुलाई सम्बोधन गर्दै आयोगका अध्यक्षले कानून एवं प्रमाणका आधारमा आयोगको काम कारबाही अगाडी बढाउने, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाई सत्य तथ्यको उजागर गर्न आयोगले सक्दो प्रयास गर्ने, पीडितहरूको सहभागिता, प्राथमिकता र अधिकार एवं स्वामित्वलाई ग्रहण गरी कानून बमोजिम आयोगलाई प्राप्त जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै आयोगले पीडितमैत्री कानून निर्माणका लागि नेपाल सरकारसमक्ष सुझाव दिएको, अनुसन्धान टोली गठन गरी मिसिल अध्ययन कार्य प्रारम्भ गरिएको र अर्ध वार्षिक एवं वार्षिक कार्य योजना बनाई छानविन कार्य अगाडि बढाएको व्यहोरासमेत अवगत गराउनु भयो ।

आयोगका सह-सचिव श्री ईश्वरीप्रसाद ढकालले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो।उप-सचिव श्री निराजन घिमिरेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा आयोगको अर्धवार्षिक जर्नल “सत्यको खोजी” वर्ष २ अंक १ को पदाधिकारी एवं पीडितजनहरुबाट संयुक्त रुपमा लोकार्पण समेत गरियो।