माननीय गृहमन्त्रीज्यूसँग छलफल सम्पन्न

आयोगका पदाधिकारीहरु र माननीय गृहमन्त्री बीचको भेटघाट

मिति २०७८ कार्तिक ७ गते माननीय गृहमन्त्री श्री बालकृष्ण खाँड र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुबीच भएको भेटघाटका क्रममा आयोगका गतिविधि तथा सम्बद्ध विषयहरुमा छलफल भयो । भेटघाटका क्रममा राहत पाउन बाँकी बेपत्ता परिवारलाई राहत उपलब्ध गराउने, परिचय पत्र पीडित परिवारलाई मासिक भत्ता उपलब्ध गराउने, परिचय पत्र प्राप्त व्यक्तिहरुले पाउने सेवा सुविधाका सम्बन्धमा आयोगको सिफारिस बमोजिम निर्णय हुनुपर्ने समेतका विभिन्न विषयमा छलफल भएको थियो। सो क्रममा सर्वोच्च अदालतको फैसला बमोजिम संक्रमणकालीन न्याय सम्बन्धी कानूनी व्यवस्था पुनरावलोकनका लागि समेत आयोगका पदाधिकारीहरुले माननीय मन्त्रीज्यूलाई आग्रह गर्नु भएको थियो। त्यसै गरि आयोगले गर्ने छानबिनको प्रक्रिया सहयोग पुर्‍याउनका लागि सम्बद्ध निकायहरुलाई निर्देशन दिनको लागि समेत माननीय मन्त्रीज्यू समक्ष आग्रह गरिएको थियो। सो छलफलका क्रममा आयोगबाट पीडित परिचय पत्र प्राप्त व्यक्तिहरुलाई सिंहदरबारमा प्रवेश सहज बनाउनका लागि आयोगको तर्फबाट गरिएको आग्रहलाई माननीय मन्त्रीज्यूले सकारात्मक रुपमा ग्रहण गर्नुभएको थियो। उहाँले आयोगको काम कारबाहीलाई समयमा नै सम्पन्न गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास समेत दिलाउनु भएको थियो। उक्त छलफलको कार्यक्रममा आयोगका  अध्यक्ष श्री युवराज सुवेदी, सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, डा. श्री गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह र सरिता थापा एवम् आयोगका सचिव श्री श्यामकुमार भट्टराईको सहभागिता रहेको थियो। उक्त छलफलको क्रममा गृह सचिव श्री टेकनारायण पाण्डे र गृह मन्त्रालयका प्रवक्ता श्री फणिन्द्रमणी पोखरेल समेत उपस्थित हुनुहुन्थ्यो।