राष्ट्रिय मानव अधिकार टोलीसँग संक्रमणकालीन न्याय सम्बन्धमा छलफल कार्यक्रम


आज मिति २०७६/०४/१६ गते आयोगको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदीप पाठकज्यू सहितको टोली र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगबीच संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सह सचिव श्री ईश्वरीप्रसाद ढकालज्यूले आयोगको हालसम्मको कार्य प्रगती, उपलब्धी एवं आयोगको कार्यसम्पादनमा रहेका चुनौती र समस्याहरुको बिषयमा प्रस्तुतीकरण गर्नु भयो।

छलफलमा आयोगमा सचिव श्रीमान कृष्णजीवी घिमिरेज्यूले आयोगले हाल गरिरहेका कार्यहरु एवं आयोगमा रहेका उजूरी फाईलको व्यवस्थापनको बिषयमा जानकारी गराउदै आयोगको काम कारवाहीलाई सहज बनाउनका लागि राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट समन्वय तथा सहकार्य गर्नु पर्ने बिषयमा जोड दिनु भयो । साथै उहाँले संक्रमणकालीन न्यायको मुद्दालाई सबै पक्षबाट पर्याप्त ध्यान दिनु पर्ने धारणा राख्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदीप पाठकज्यूले संक्रमणकालीन न्याय सम्पादनमा प्रभावकारिता ल्याउन उपयुक्त कानून निर्माण र सक्षम पदाधिकारी नियुक्ति हुनु पर्नेमा जोड दिनु भयो । उहाँले पदाधिकारीविहिन अवस्थामा पनि बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवालयबाट छानविन कार्यलाई सहयोग पुग्ने गरी सूचना संकलन अध्ययन एवं विश्लेषण जस्ता खोजपूण कार्य गरिरहेकोमा प्रशंसा गर्नु भयो ।

छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदीप पाठकज्यू सहित उक्त आयोगका उपनिर्देशक, मानव अधिकार अधिकृत र सूचना प्रविधि अधिकृत तथा यस आयोगका श्रीमान् सचिवज्यू, सहसचिवज्यू र उपसचिवज्यूहरुको सहभागीता रहेको थियो ।