रुकुम पूर्व र रोल्पा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम-रुकुम पूर्व जिल्ला

मिति २०८१/०२/२७ गते लुम्बिनी प्रदेशको रुकुम पूर्वमा स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानविन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख श्री मोहन बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सिस्ने गाउँपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष श्री कृष्ण रेग्मी, भुमे गाउँपालिकाका अध्यक्ष श्री होम प्रकाश श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष श्री पुनराज घर्ति, सिस्ने गाउँपालिकाको उपाध्यक्ष श्री गोपाल रेउले, भुमे गाउँपालिकाको उपाध्यक्ष सविना रोङखानी बुढामगर, प्रमुख जिल्ला अधिकारी श्री माधव प्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक श्री माधव प्रसाद खरेल, सहायक जिल्ला न्यायाधिवक्ता श्री श्रीधर अधिकारी, प्रमुख प्रशासकिय अधिकृतज्यूहरु, विभिन्न पालिकाका वडा अध्यक्षज्यूहरु तथा आयोगका कर्मचारी र अन्य कर्मचारीहरु समेत गरी ३० जनाको उपस्थिति रहेको थियो। यस कार्यक्रममा आयोगको तर्फबाट उपसचिव श्री सन्तोष कुमार गिरीले आयोगको काम कारबाही, परिपूरण तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई विभिन्न स्थानीय तहले गरेको सम्बोधन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण आयोगका शाखा अधिकृत श्री भिष्म आचार्यले गर्नु भएको थियो।

अन्तरक्रियाका क्रममा झुट्टा उजूरी नपरुन, वास्तविक पीडितले न्याय पाउन, राज्यले उपलब्ध गराएको राहत नपाउने पीडित परिवारलाई राहत उपलब्ध होस भन्ने आकाक्षांसहित सहभागिहरुको तर्फबाट मानव अधिकारको गम्भिर उल्लङघनका घटनामा क्षमा नपाउने उल्लेख भएकोले मेलमिलाप कसरी हुन सक्छ? मृत्यु दर्ता गर्दा क्षतीपूर्ति पाउने कि नपाउने ? जस्ता जिज्ञासा सहित छलफल भएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्षता गरिरहनु भएका सिस्ने गाउँपालिकाका अध्यक्ष श्री कृष्ण रेग्मीले बेपत्ता पीडित परिवारलाई सम्बोधन गर्ने दायित्व स्थानीय तहको पनि हो भनि उल्लेख गर्नुभयो। छलफलमा उठेका जिज्ञासाहरुलाई आयोगका उपसचिव श्री सन्तोष कुमार गिरीले सम्बोधन गर्दै आगामी दिनमा पनि स्थानीय तह र आयोग बीच नविन कार्य र पीडितलाई प्रदान गर्नुपर्ने सेवा सुविधा परिपूरणमा सहयोग र समन्वय हुनुपर्ने भन्दै कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

       

अन्तरक्रिया कार्यक्रम- रोल्पा जिल्ला

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख श्री सिता आचार्यको प्रमुख आतिथ्यतामा मिति २०८१/०२/२८ गते स्थानीय तहका जनप्रतिनिधिसंग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री खिमबहादुर रायमाझीको अध्यक्षतामा जिल्ला समन्वय समिति रोल्पाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन आयोगका शाखा अधिकृत श्री भिष्म आचार्यले गर्नु भएको थियो।कार्यक्रममा आयोगका उपसचिव श्री सन्तोष कुमार गिरीले आयोगको काम, कारवाही, परिपूरण तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई विभिन्न स्थानीय तहले गरेको सम्बोधन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्री कर्मलाल परियार, रोल्पा नगरपालिकाका प्रमुख श्री सुरेन्द्र थापा घर्ती, रोल्पा नगरपालिकाका उपप्रमुख श्री गीता आचार्य, रुन्टीगढी गाउँपालिकाको अध्यक्ष श्री जनक पुन, थवाङ गाउँपालिकाका अध्यक्ष श्री ऋषिकेश गुरुङ, सुनछहरी गाउँपालिकाका उपाध्यक्ष श्री नैनकला घर्ती, माडी गाउँपालिकाका उपाध्यक्ष श्री जयपुरी घर्तिमगर, त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष श्री लेखमणी डाँगी, जिल्ला न्यायाधिवक्ता श्री चुरामणी पराजुली, जिल्ला समन्वय अधिकारी श्री अयोध्या प्रसाद भण्डारी, प्रहरी नायव उपरीक्षक श्री भरत लामा, जिल्ला समन्वय समितिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृतज्यूहरु, वडा अध्यक्षज्यूहरु, पत्राकार र यस आयोगका कर्मचारी समेत गरी ५६ जनाको उपस्थिती रहेको थियो।

अन्तरक्रियाका क्रममा सहभागिहरुको तर्फबाट कुनै पीडित परिवारलाई ५ लाख र कसैलाई १० लाख राहत कसरी हुन पुगेको हो ? पीडितलाई उपलब्ध गराउदै आएको क्षतिपूर्ति किन रोकिएको हो ? बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको निरन्तरता कहिलेसम्म ? भनि जिज्ञासा व्यक्त गर्नुका साथै पीडित परिवारलाई न्याय उपलब्ध नभएपनि उचित राहतको व्यवस्था होस र द्वन्द्वकालमा जागिरवाट विस्थापित भएकाहरुको पुर्न वहाली होस, आयोग कामकाजी हुनुपर्‍यो, आफ्नो जिम्मेवारीलाई पुरा गर्नुपर्‍यो, हिजोको लडाई कसैको व्यक्तिगत स्वार्थमा नभएकोले मिलेर अगाडी बढ्नुपर्छ भन्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै आयोगका उपसचिव श्री सन्तोष कुमार गिरीले आगामी दिनमा पनि स्थानीय तह र आयोग बीच छानविन कार्य र पीडितलाई प्रदान गर्नुपर्ने सेवा सुविधा परिपूरणमा  समन्वय र सहयोग हुनुपर्ने कुरामा जोड दिदै कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्षता गरिरहनु भएका प्रमुख जिल्ला अधिकारी श्री खिमबहादुर रायमाझीले सहभागी सबैलाई धन्यवाद दिदै आयोगले आगमी दिनहरुमा यस्ता कार्यक्रम ल्याउदा वैशाख महिना भन्दा अगाडी ल्याउन सुझाव दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।