वेपत्ता पीडित तथा सरोकारवालाहरुसँग छलफल कार्यक्रम,२०७५


मिति २०७५/०४/२० गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभा हलमा आयोगका अध्यक्ष श्रीमान् लोकेन्द्र मल्लिकज्यूको अध्यक्षता वेपत्ता परिवार राष्ट्रिय संजालका अध्यक्ष श्री राम कुमार भण्डारी तथा वेपत्ता पीडित परिवारजन लगायतको सहभागितामा “वेपत्ता पीडित तथा सरोकारवालाहरुसँग छलफल कार्यक्रम” सम्पन्न भयो। उक्त कार्यक्रममा आयोगका सदस्य श्री विजुल वि.क. दुलाल, सदस्य श्री प्रा.डा.  विष्णु पाठक, सदस्य श्री नरकुमारी गुरुङ, सदस्य श्री आइबहादुर गुरुङ, सचिव श्री कृष्णजीवी घिमिरे, सह–सचिव श्री प्रेमकुमार श्रेष्ठ लगायत आयोगमा कार्यरत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन उपसचिव टीकाभूषण घिमिरेले गर्नुभयो।कार्यक्रममा उपस्थितहरुलाई स्वागत एवं कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगका सह-सचिव श्री प्रेमकुमार श्रेष्ठज्यूले आयोगले हालसम्म सम्पादन गरेको कार्यहरुको जानकारी गराउँदै आफ्नो कार्ययोजना अनुसार  म्यादभित्रै आयोगले कार्य सम्पन्न गर्न लागिपरेको बताउनुभयो ।अतिथिको मन्तव्यको क्रममा वेपत्ता परिवार राष्ट्रिय संजालका अध्यक्ष रामकुमार भण्डारीले  वेपत्ता व्यक्तिबारे सत्य तथ्य जानकारी बाहिर आउनुपर्ने, हालसम्मका उजुरीको अवस्था, अनुसन्धान प्रकृया, पीडित परिवारको भूमिका समेतका सम्बन्धमा आयोगका तर्फबाट सत्य-तथ्य सहितको बलियो प्रतिवेदन आउनु पर्ने, पीडित र साक्षीको सुरक्षाको सुनिश्चितता, परिपूरण नीतिमा पीडितहरुको चासो रहेको भनाई राख्नुभयो । त्यसैगरी पीडितहरुले विस्तृत अनुसन्धान भएका जिल्लाका पीडितलाई र विस्तृत अनुसन्धान हुन बाँकी जिल्लाका पीडितलाई हालसम्म भएको कामको जानकारी गराउनुपर्ने माग राख्नुका साथै आयोग पीडित मैत्री हुन नसकेको अनुभव आफूहरुले गरेको जानकारी गराउनुभएको  थियो  । आरोपितउपर किटानी गरेर दिएको उजुरीहरुमा आरोपितहरुलाई यतिका वर्षसम्म किन केही बुझ्ने काम भएन भन्ने प्रश्न राख्नुभयो।आयोग प्रतिको आलोचनात्मक सहकार्य ( Critical engagement) रहेको साथै आफूहरु आयोगको कामकारबाही प्रति निराश नभै अझै पनि आशावादी रहेको प्रसंग उल्लेख गर्दै हामी अरु केही चाँहदैनौ, न्याय मात्र चाहन्छौ भन्नु भयो ।घटना घटेको लामो समय भैसकेको र अद्यपि न्याय नपाएकोले आफू गहिरो पीडामा रहेको समेत उल्लेख गर्नुभएको थियो ।

उक्त छलफल कार्यक्रममा वेपत्ता पीडित परिवारजनहरुबाट राखेको जिज्ञासाहरुको सम्बन्धमा आयोगका अध्यक्ष श्रीमान् लोकेन्द्र मल्लिकज्यूले जवाफ दिनुभएको थियो । आयोगले हाल विस्तृत छानविन, कारबाही प्रकृया अघि बढाइएको, उजुरीहरुमा पीडित, साक्षी लगायत घटनाका जानकार मानिसहरु बुझ्ने, एन्टीमोर्टम तथा परिपुरण फाराम भराउने काम गरिरहेको छ । आयोगले सधैँ सेवाभावले काम गर्दै आएको जानकारी दिदैँ आरोपितहरुलाई वयानका लागि बोलाउने सम्बन्धमा  आवश्यक तयारी गरिरहेको कुराको जानकारी गराउनु भयो । आयोगको काम कारबाही पारदर्शी छ, यसले गरेको आर्थिक विवरण लगायत प्रत्येक खर्चको विवरण नियमित रुपमा सबैको जानकारीको लागि आयोगको वेभसाईटमा राख्ने गरेको लगायतका जवाफ दिनुभएको थियो ।