संविधान दिवस -२०७९ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले संविधान दिवस -२०७९ को अवसरमा मिति २०७९/६/२ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्रीमान बलराम के.सी., संविधान सभाका सदस्यहरु श्री एकराज भण्डारी र श्री सावित्री दुरा, बेपत्ता परिवार राष्ट्रिय सञ्जालका श्री शोभा भट्ट, पीडित परिवारका प्रतिनिधिहरु, मानव अधिकार आयोगका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु, इन्सेकको प्रतिनिधि, नेपाल ल क्याम्पसको उपप्राध्यापक श्री तेजमान श्रेष्ठ लगायत आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोगका उपसचिव श्री नवराज आचार्यले आयोगबाट हालसम्म गरिएका कामकारवाहीको विषयमा प्रस्तुति राख्नु भएको थियो। उक्त प्रस्तुती उपर टिप्पणी गर्ने क्रममा सहभागीहरुले शसस्त्र द्वन्द्व अन्त्य भएको लामो समयसम्म पनि बेपत्ता पारिएका व्यक्तिको स्थिति सार्वजनिक गर्न नसकिएको, पीडितले न्यायको अनुभुति गर्न नसकेको, संक्रमणकालीन न्यायलाई समयमा टुङ्गोमा पुर्‍याउन ऐन संशोधन हुनुपर्ने धारणा राख्नु भएको थियो। सो क्रममा संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन उच्चस्तरीय राजनैतिक प्रतिवद्धता आवश्यक रहेको र सरकारले यो विषयलाई प्राथमिकता दिनुपर्ने धारणा समेत प्रस्तुत भएको थियो। छलफलको क्रममा द्वन्द्व पीडितलाई संवोधन गर्न संविधानले गरेका प्रतिबद्धता र सो को कार्यान्वयनको अवस्था कमजोर रहेको टिप्पणी समेत गरिएको थियो। सो छलफलमा पीडित परिवारका प्रतिनिधिहरु श्री सिता बुढा र श्री शोभा भट्टले तत्काल बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्नुपर्ने, बेपत्ता पारिएका व्यक्तिको सास या लास पाउनु पर्ने पीडितको आवाज रहेको धारणा राख्नु भएको थियो। बेपत्ता परिवारजनको पीडा सरकार समक्ष पुग्न नसकेको र हालसम्म आयोगले परिपूरणको सिफारिस नगरेकोमा सहभागीहरुको गुनासो रहेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्रीमान बलराम के.सी ले नेपालको संविधान, २०७२ ले आत्मासात गरेका मूलभूत विषयहरु र हालसम्मको संविधान कार्यान्वयनको अवस्था बारेमा समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा आयोगका सचिव श्याम कुमार भट्टराईले अतीथिहरुलाई स्मृतिको चिनो हस्तान्तरण गरी सम्पूर्ण सहभागीहरुलाई संविधान दिवशको अवसरमा शुभकामना दिँदै कार्यक्रम अन्त्य गर्नुभयो। होटल सांग्रिला ब्लु, बखुन्डोलमा सम्पन्न सो कार्यक्रमको संचालन र सहजीकरण आयोगका ना.सु. श्री बाबुराम पन्थीले गर्नु भएको थियो ।