ICRC Nepal र आयोग बीच भेटघाट सम्पन्न ।

मिति २०७७ पौष २४ गते शुक्रबारको दिन ICRC Nepal र आयोग बीच भेटघाट सम्पन्न भयो। नेपालमा २०५२फागुन १ गते देखि २०६३ मंसीर ५ सम्म भएको सशस्त्र द्वन्द्वको क्रममा  मानव अधिकारको गम्भीर उल्लंघन गरी व्यक्ति बेपत्ता पारिएका घटनाको सम्बन्धमा आयोगमा दर्ता भएका उजुरीमा छानबिनको क्रममा गर्नुपर्ने शव उत्खनन्, डीएनए परीक्षण लगायतका कार्यलाई प्रभावकारी रूपमा सञ्‍चालन गर्ने सम्बन्धमा गर्नु पर्ने आवश्यक पूर्व तयारीको विषयमा छलफल केन्द्रित रहेको थियो। छलफलको क्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीले शव उत्खननको विषयलाई आयोगले संवेदनशील रूपमा लिएको,  यस कार्यको लागि सहजीकरण गर्न विधि विज्ञान समन्वय समिति गठन गरिएको र शव उत्खनन डिएनए परीक्षण लगायतका कार्यका लागि आवश्यक पर्ने प्राविधिक तथा विज्ञ सहयोग एवम् क्षमता विकासको लागि ICRC सँग अपेक्षा रहेको कुरा बताउनु भएको थियो। यसै गरी ICRC Nepal का Head of Mission श्री Zerome Imstepf  ले शव उत्खनन को कार्यमा ICRC प्रत्यक्ष रूपमा सम्लग्न नहुने, तथापि यस प्रणालीलाई सहयोग गर्न ICRC तयार रहेको, क्षमता विकास तथा अन्य आवश्यक प्राविधिक एवम् विज्ञ सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। बैठकमा आयोगका सदस्य एवम् प्रवक्ता डा. श्री गंगाधर अधिकारी तथा सचिव श्री कृष्‍णजीवी घिमिरेको समेत उपस्थिति रहेको थियो।