बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

मानवअधिकारवादी एवं कानूनविद्धहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


2020-03-03

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र  मानव अधिकारवादी एवं कानूनविद्हरु बीच २०७६ साल फागुन १९ गते  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आयोगका अध्यक्ष श्री युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका सह-सहचिव श्री ईश्वरीप्रसाद ढकालले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो। आयोगका सदस्य श्री विश्वप्रकास भण्डारीले कार्यक्रमको औचित्यता बारेमा मन्तव्य राख्नु भएको थियो भने सदस्य श्री डा. गंगाधर अधिकारी र श्री सुनिल रंजन सिंहले आयोगका कार्यहरुमाथि प्रकाश पार्नु भएको थियो र सदस्य श्री सरिता थापाले आयोगको हाल सम्मका कामकारवाही र आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सहभागिहरुबाट उठाइएका विषयमा सम्बोधन गर्दै आयोगका अध्यक्ष श्री सुवेदीले ऐन, कानून क्षेत्राधिकारभित्र रहेर काम कारबाहीलाई  अगाडि बढाउने, कुनै आग्रह पूर्वाग्रहविना स्वतन्त्र एवं निष्पक्ष ढंगले पीडितमैत्री भएर काम गर्ने प्रतिवद्धताका साथै सबै सरोकारवाला निकायको सल्लाह एवं सुझावलाई ग्रहण गर्दै अनुसन्धानका कार्यलाई अगाडि बढाउने व्यहोरा अवगत गराउँदै पीडितहरुको सम्मानका लागि "द्वन्द्व व्यवस्थापन शान्ति सङ्‍ग्रालय" का लागि पहल भइरहेको अवगत गराउनु भएको थियो। साथै अध्यक्षवाट कोरोना भाइरस रोग लाग्न नदिन रोकथामका उपाय सबैले अवलम्बन गरौं र कोरोना भाइरस रोगको विरुद्ध चीन सरकारले चालेको अनुकरणीय कदमप्रति हामी ऐक्यवद्धता जनाउँछौ भन्नु भयो।

कार्यक्रममा नेपाल बार एशोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री चन्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी, वरिष्ठ अधिवक्ता एवं महान्यायाधिवक्ताद्वय श्री मुक्ति प्रधान र रमण कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, वरिष्ठ अधिवक्ता श्री रामनाथ मैनाली, काहुराष्ट्र नेपालका अध्यक्ष श्री विष्णुपुकार श्रेष्ठ, नेपाल बार एशोसिएन  मानव अधिकार समितिका अध्यक्ष अधिवक्ता सुनिल पोखरेल, अधिवक्ता पंकज कुमार कर्ण एवं अधिकारकर्मी अधिवक्ता श्री ईन्द्र प्रसाद अर्याल, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालका कार्यवाहक अध्यक्ष श्री भेषेन्द्र कुमार अर्याल लगायतका व्यक्तित्वहरुले पीडित मैत्री भएर काम गर्नुपर्ने, द्वन्द्व पीडितलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, स्वतन्त्रता, निष्पक्षताका साथ अगाडि बढ्नु पर्ने, आवश्यकता अनुसार कानूनको संशोधन गरी काम गर्नुपर्ने, बेपत्ता व्यक्तिको आत्मासम्मान हुने खालका कार्यहरु गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो।सो अवसरमा आयोगका सचिव कृष्णजीवी घिमिरे, सह-सचिवहरु एवं अनुसन्धान विज्ञहरु लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।

पुनश्च: आयोगको हालसम्मको कार्य विवरण यहाँबाट डाउनलोड गर्न सकिने छ ।

 

 

समाचार तथा सुचना