मिति २०७२ । ११ । ३० मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०७२ जारी भई लागू भएपश्चात् मात्र आयोगबाट उजूरी संकलनको काम शुरु भयो । आयोगले मिति २०७२ । १२ । २२ को निर्णय अनुसार राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच मिति २०५२ । ११ । १ गतेदेखि मिति २०६३ । ८ । ५ गतेसम्म सशस्त्र द्वन्द्वको क्रममा भएको व्यक्ति बेपत्ता पार्ने कार्यउपरको उजूरी आयोगमा वा स्थानीय शान्ति समितिको कार्यालयको सचिवालयमा मिति २०७३ साल बैशाख २ गतेबाट ऐ.जेष्ठ मसान्तसम्म उजूरी गर्न सार्वजनिक सूचना आव्हान ग[र्यो । उजूरी दर्ता गर्न तोकिएको समय पर्याप्त नभएकोले उजूरी दर्ता प्रक्रिया खुल्ला राख्न पीडित तथा सरोकारवाला संस्थाहरुबाट अनुरोध भई आएकोले आयोगको मिति २०७३ । ४ । २ को निर्णयानुसार पुनः ऐ. श्रावण २६ गतेसम्म उजूरी आव्हान भएको थियो । पछि नेपाल सरकारबाट आयोगको म्याद एकवर्ष थप भएपश्चात् पनि आयोगको मिति २०७३ । ११ । १५ को निर्णयानुसार २०७३ । १२ । १५ सम्मको समय सीमा तोकी पुनः उजूरी दिन सकिने गरी आयोगले सूचना जारी गरेको थियो । तत् पश्चात आयोगले यस कार्यावधिमा पनि २०७४ । ११ । १ देखि ऐ. ३० गतेसम्म उजूरी दर्ता प्रकृया खुल्ला राखेको थियो । यसरी चार पटक जारी गरिएको सार्वजनिक सूचनाको आधारमा आयोगमा जम्मा ३२२३ थान उजूरीहरु संकलन भएका छन् ।
ति कुल ३२२३ उजूरीहरु दर्ता भई बेपत्ता व्यक्तिको संख्या ३२५० रहेकोमा प्रारम्भिक कारवाही र प्रारम्भिक छानविनबाट ७१३ उजूरीको लगतकट्टा गर्दा हाल २,५२२ जना बेपत्ता व्यक्तिहरुका सम्बन्धमा विस्तृत छानबिन भईरहेको छ । उक्त सङ्ख्या मध्ये ३६ जनालाई केही समय (आंशिक) बेपत्ता पारी छाडिएको देखिन्छ । अनुसन्धानका क्रममा २३ जना ब्यक्तिहरु हाल बेपत्ता नरहेको, उजूरीकर्ताको सम्पर्कमा रहेको र रोजगारीका लागि अन्यत्र मुलुक गएको भनी खुल्न आएको छ ।
विस्तृत छानविन गर्ने भनी निर्णय भएका २५०६ उजूरी मध्ये आयोगले विस्तृत छानबिन अन्तर्गत ७३ जिल्ला र काठमाडौं उपत्यकामा अस्थायी ठेगाना रहेका २५०० जना उजूरीकर्तासँग घटना बारे सोधपुछ गरी निजहरुको कागज गराउने एण्टीमोर्टम तथ्यांङ्क फाराम तथा परिपूरण फाराम भराउने कार्यादेश सहित अनुसन्धान अधिकारी र कार्यटोली तोकी निजहरुलाई जिम्मा दिएको थियो । बाँकी रहेका ४ जिल्ला मध्ये मनाङ र मुस्ताङको उजूरी निवेदन नपरेको र २ (डोल्पा र हुम्ला)जिल्लामा विस्तृत छानविन अन्तर्गत उजूरीकर्तासँग घटना बारे सोधपुछ गरी निजहरुको कागज गराउने एण्टीमोर्टम तथ्यांङ्क फाराम तथा परिपूरण फाराम भराउने कार्य बाँकी रहेको छ । आयोगमा दर्ता भई विस्तृत छानविनमा रहेका उजूरीहरुको बारेमा विस्तृत विवरण देहाय बमोजिम रहेको छ।
उजूरीको हालको अवस्थाको पाई चार्ट
उजूरीमा हाल सम्मको कारवाहीको अवस्था
सि.न. | विवरण | संख्या |
---|---|---|
१ | विभिन्न माध्यमबाट आयोगमा दर्ता हुन आएका कुल उजूरी | ३२२३ |
२ | सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको उजूरी | ४१४ |
३ | उजूरीकर्ताको अनुरोधमा पून सत्य निरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाईएको उजूरी | १३७ |
४ | एउटै व्यक्तिलाई बेपत्ता पारिएको भनी उजूरी परेको हुँदा दोहोरो उजूरी काटी लगत कट्टा गरिएको उजूरी | १३१ |
५ | तामेलीमा राखिएको उजूरी | ३०५ |
६ | विस्तृत छानविन गर्ने भनी आयोगबाट निर्णय भएका उजूरी | २५१० |
७ | प्रारम्भिक छानविन कार्य जारी रहेका | ० |
८ | हाल कारवाहीयुक्त रहेका उजुरीहरु | २५१० |
९ | उजूरीका आधारमा बेपत्ता पारिएका व्यक्ति | २५२२ |
१० | विस्तृत छानविन गर्न भनी अनुसन्धान अधिकारी तथा कार्यटोली तोकिएको उजूरी | २५०० |
११ | विस्तृत छानविनको प्रथम चरणको कार्य सम्पन्न भएको जिल्ला | ७३ (दुई जिल्ला डोल्पा र हुम्ला बाँकी) |
१२ | विस्तृत अनुसन्धानको दौरान फेला परेका बेपत्ता व्यक्ति | २३ सोमा १४ जना निर्णय |
१३ | विस्तृत छानविन गर्न अनुसन्धान अधिकारी तोकी प्रथम चरण विस्तृत छानविनको कार्य सम्पन्न भएको | २२७६ |
१४ | अनुसन्धान अधिकारी तथा कार्यटोलीसँग उजूरीकर्तासँग सम्पर्क नहुँदा विस्तृत छानविनको कार्य अन्तर्गत प्रथम चरणको कार्य गर्न नसकिएको | २२४ |
१५ | विस्तृत छानविनको प्रथम चरणको कार्य उजूरीकर्ता बुझ्ने, एण्टीमोर्टम भराउने, परिपूरण भराउने कार्य सम्पन्न गरी अनुसन्धान अधिकारी तथा कार्यटोलीबाट राय सहितको प्रतिवेदन आयोगमा पेश भएको फाइल | २२७६ |