लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्रीसँग आयोगका प्रवक्ता डा.अधिकारीको भेटघाट सम्पन्न ।

लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी. तथा सोही प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री श्री तिलकराम शर्मा ज्यूसँग आयोगका सदस्य एवं प्रवक्ता डा.श्री गंगाधर अधिकारीज्युको भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा भएको उक्त भेटघाटको क्रममा आयोगका सदस्य एवं प्रवक्ता डा.अधिकारीज्यूले आयोगले बेपत्ता पीडितहरुका लागि आयोग सक्रियताका साथ कामकाज गरिरहेको एवम् बेपत्ता पीडितको लागि आयोगबाट नेपाल सरकारलाई विभिन्न किसिमका राहत, सुविधा तथा सहुलियतको विषयमा सिफारिस गरेको जानकारी गराउनु भएको थियो । सोही क्रममा वहाँले हाल आयोगले वेपत्ता पीडित परिवारजनलाई परिचयपत्र वितरणमा तिव्रता दिई पीडितको पहिचानमा उल्लेखनिय प्रगति गरेको बारे अवगत गराउनु भएको थियो ।  भेटघाटमा माननीय मन्त्री श्री तिलकराम शर्मा ज्यूले बेपत्ता तथा द्वन्द पीडित व्यवस्थापनको लागि प्रदेश सरकारबाट बेपत्ता तथा द्वन्द पीडित व्यवस्थापन ऐनको तर्जुमा हुन लागेको एवम् लुम्विनी प्रदेशमा छनौट गरिने प्रदेश प्रहरी लगायत विभिन्न सरकारी निकायमा वेपत्ता तथा द्वन्द पीडितको लागि आरक्षणको विषयमा बहस भैरहेको व्यहोरा प्रस्तुत गर्नुभएको थियो । भेटमा माननीय मुख्यमन्त्रीज्युले आयोगले परिचयपत्र वितरण गरि पीडित पहिचानमा गरेको कामको उच्च प्रशंसा गर्दै अबको प्रदेश सरकारको कर्यक्रममा आयोगबाट वितरण गरिएको परिचयपत्रका आधारमा वेपत्ता तथा द्वन्द पीडितहरुको लागि निशुल्क स्वास्थ्य विमाको कार्यक्रम समेत अगाडि बढाउने प्रतिवद्वता राख्नु भएको थियो । उक्त भेटघाट कार्यक्रम आयोगका सदस्य एवम् प्रवक्ता डा. अधिकारीको नेतृत्वको टोली लुम्विनी प्रदेशका कपिलबस्तु, रुपन्देही तथा अर्घाखाँचीमा परिचयपत्र वितरणका लागि फिल्डमा रहँदाका वखत सम्पन्न भएको हो ।