वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व नवमी - ९
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/०९/१२ देखि १४ गते सम्म आयोगमा कार्यरत कर्मचारीहरुको लागि बयान सम्बन्धी विधि प्रक्रिया विषयवस्तुको ज्ञान दिलाउन बयान सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरियो ।
उक्त तालिम कार्यक्रममा श्रोत व्यक्तिको रुपमा राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान प्रमुख श्री श्यामबाबु काफ्ले, मानवअधिकारकर्मी श्री श्रीराम अधिकारी, आयोगका सह-सचिव श्री कृष्णप्रसाद पुडासैनी र आयोगका पूर्व सह-सचिव श्री कुमुद प्रसाद शर्मा रहनु भएको थियो ।
तालिम कार्यक्रमको पहिलो दिनको पहिलो सत्रमा संक्रमणकालीन न्यायको छानविन प्रकृया र अन्तराष्ट्रिय अभ्यासमा श्रीराम अधिकारीले प्रस्तुति दिनुभएको थियो। दोश्रो र तेश्रो सत्रमा स्वच्छ सुनुवाई र बयानको आवश्यकता र बयानको प्रकृया र सुरक्षा संवेदनशिलता एवं गोपनियता सम्बन्धी विषयमा कुमुदप्रसाद शर्माले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमको दोश्रो दिनको पहिलो सत्रमा नमुना बयान सम्बन्धी अध्ययन र छलफल भएको थियो। सोही दिनको अर्को सत्रमा कानूनी व्यवस्था र बयानको प्रकृया विषयमा श्री कृष्ण प्रसाद पुडासैनीले र राष्ट्रिय मानव अधिकार आयोगबाट गराईने बयानको अभ्यास र अनुभवको बारेमा मानव अधिकार आयोगका अनुसन्धान प्रमुख श्री श्यामबाबु काफ्लेले प्रस्तुति दिनुभएको थियो। तालिममा सहभागीहरुले सामूहिक छलफल र आफुलाई लागेका जिज्ञासा समेत राखेका थिए ।
तालिम कार्यक्रमको तेश्रो दिनमा श्रोत व्यक्ति श्री कुमुदप्रसाद शर्माले सहभागी कर्मचारीहरुलाई समूहमा विभाजन गरी बयान सम्बन्धी case study दिई नमुना बयानको अभ्यास समेत गराईएको थियो। कर्मचारीहरुले आ-आफ्नो समूहबाट लिइएका नमुना बयानको प्रस्तुतिकरण समेत गरिएको थियो। भक्तपुर स्थित भिलेज हाइल्याण्ड रिसोर्टमा सम्पन्न सो तालिम कार्यक्रमको सहजिकरण आयोगका उप-सचिव श्री ज्योति श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको अन्तमा आयोगका सह-सचिव श्री कृष्णप्रसाद पुडासैनीले यस्ता कार्यक्रमबाट कर्मचारीको क्षमता अभिवृद्वि हुने र आयोगको छानबिन प्रकृयामा सहयोग पुग्ने विचार ब्यक्त गर्दै प्रशिक्षकहरुलाई आभार प्रकट गरी सहभागी सबैलाई धन्यवाद दिई कार्यक्रमको समापन गर्नुभएको थियो ।