वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व अष्टमी - ८
प्रेस विज्ञप्ति
काठमाडौं, नेपाल २०८२/०४/१६
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा पीडित र सरोकारवालासँगको तेस्रो परामर्श कार्यक्रम सम्पन्न।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा आयोजित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन, २०७१ मा भएको तेस्रो संशोधन अनुरूप सोको नियमावली तयार गर्नको लागि पीडित र सरोकारवालासँग परामर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त परामर्श कार्यक्रमबाट आयोगले पीडितहरुको सरोकारलाई केन्द्रमा राखी पीडितहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने कुरा पुनः पुष्टि गरेको छ।कार्यक्रममा आयोगका पूर्व पदाधिकारीहरु, आयोगका पूर्व सचिवहरु, बेपत्ता पारिएका व्यक्तिका परिवार, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
परामर्शमा मुख्यतः आयोगमा रहने इकाईहरु, इकाईहरुमा रहने विषय विज्ञ, सत्य अन्वेषण, छानबिन तथा अनुसन्धानका व्यवस्था, परिपूरण, मनोसामाजिक परामर्श, सुरक्षा, गोपनियतासँग सम्बन्धित व्यवहारिक चुनौती तथा अवसरका बारेमा सुझाव प्राप्त भयो।बिगतमा आयोगले भोगेको कानूनी एवं व्यवहारिक चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारहरुको बारेमा विस्तृत रुपमा छलफल भयो।
ऐनमा भएको तेस्रो संशोधन अनुसार तयार गरिएको आयोगको नियमावलीमा आएका सुझावहरुले आयोगको कार्यसञ्चालनलाई विधिसम्मत बनाउने कुरामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। परामर्श कार्यक्रमबाट प्राप्त अमूल्य सुझावहरूलाई नियमावलीको प्रारम्भिक मस्यौदामा समावेश गरी नेपाल सरकारसमक्ष परामर्श दिने कुरा आयोगका तर्फबाट सहभागीहरुमा प्रतिबद्धता जनाइएको छ।यस कार्यक्रमबाट पीडित-केन्द्रित तथा पीडित-मैत्री किसिमले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन कोशेढुङ्गा साबित हुने आयोगले अपेक्षा गरेको छ।कार्यक्रममा सहभागी सबैजनाप्रति आयोग आभार प्रकट गर्दछ।
आयोगले आगामी दिनहरूमा अन्य बिषयमा समेत पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै पीडितको विश्वास प्राप्तगर्ने र सत्य तथा न्याय सुनिश्चित गर्ने कार्यमा दृढ रहने प्रतिबद्धता जनाएको छ।
श्रृजना पोखरेल
सदस्य तथा प्रवक्ता