वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा नवमी - २४
काठमाडौं, माघ ५ गते ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो कार्यालय पुल्चोक ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल गरेको छ ।बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको उक्त छलफल बेपत्ता पारिएका व्यक्तिको सम्बन्धमा उजुरी संकलन तथा छानविन प्रक्रियालार्इ के कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो ।
सो छलफल कार्यक्रममा आयोगका सचिव महेश शर्मा पौडेलले हालसम्म आयोगले सम्पन्न गरेका कार्यहरुबारे जानकारी प्रस्तुत गर्नुभएको थियो भने आयोगका पदाधिकारीहरु बिजुल वि.क. दुलाल, प्रा. डा. विष्णु पाठक, नर कुमारी गुरुङ्ग र आई बहादुर गुरुङ्गले यस आयोग आफ्नो लक्ष्यमा पुग्नको लागि राष्ट्रिय मानव अधिकार आयोगको साथ र सहयोग आवश्यक रहेको कुरा व्यक्त गर्नुभएको थियो।
राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य सुदिप पाठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा शव उत्खनन् लगायत आयोगले सम्पादन गर्ने कार्यहरुमा आफ्ना अनुभव तथा ज्ञानहरु आदान प्रदान गर्न राष्ट्रिय मानव अधिकार आयोग तयार रहेको उल्लेख गर्दै आगामी दिनमा दुर्इ आयोग विचको सहकार्य र समन्वयलाई थप प्रगाढ बनाउन तयार रहेको उल्लेख गर्नु भयो ।
छलफल कार्यक्रमको समापन गर्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगको प्रतिवेदन कार्यान्वयनको अनुगमन दायित्व राष्ट्रिय मानव अधिकार आयोगमा रहने व्यवस्था बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ ले गरेको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बेपत्ता व्यक्तिहरुको छानविन तथा शव उत्खननका सम्बन्धमा यस अघि राष्ट्रिय मानव अधिकार आयोगले गरेका अनुसन्धानका कामहरुको अनुभव आदान प्रदान तथा अभिलेखहरु उपलब्ध गराउने कार्यमा सहयोगको अपेक्षा गर्दै आयोग सम्म आई आफ्ना अनुभवहरु आदान प्रदान गर्नु भएकोमा आयोगका माननीय सदस्य सुदिप पाठक तथा राष्ट्रिय मानव अधिकार आयोगलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान महाशाखाका प्रमुख यज्ञ अधिकारी, माया शर्मा तथा यस आयोगका सहसचिव कुमुद प्रसाद शर्मा, उपसचिव रामहरि शर्मा काफ्ले शाखा अधिकृत परमानन्द घिमिरे लेखा अधिकृत हरिनारायणराज भण्डारी र शाखा अधिकृत गोविन्द प्रसाद हुमागार्इ समेत उक्त छलफलमा सहभागी हुनुभएको थियो ।