“संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरू” विषयक कार्यशाला सम्बन्धी प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा आयोजित "संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरू" विषयक कार्यशाला २०८२/३/६ गते महान्यायाधिवक्ताको कार्यालयको बुद्ध हलमा सम्पन्न भएको छ । उक्त कार्याशालाको अध्यक्षता आयोगका अध्यक्ष श्री लीला देवी गड‌तौलाले गर्नु भएको र अतिथिहरुको रुपमा श्री शर्मिला त्रिपाठी (बेपत्ता परिवार तथा पूर्व प्रदेश प्रमुख, सुदुर पश्चिम प्रदेश), प्रा.डा. वरिष्ठ अधिवक्ता श्री विजय प्रसाद मिश्र  (नेपाल बार एशोसिएसनका अध्यक्ष), श्री अर्जुन भट्टराई (गैरसरकारी संस्था महासंघका अध्यक्ष), वरिष्ठ मानव अधिकारकर्मी श्री सुबोधराज प्याकुरेल, नागरिक संगठनका अगुवा श्री शान्त लाल मुल्मी हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा आयोगका सदस्यहरु, सचिव, सहसचिवहरु, उपसचिवहरु र अन्य कर्मचारीका साथै विभिन्न संवैधानिक निकाय, सुरक्षा निकाय, सरकारी कार्यालयहरु, पेशागत महासंघहरु, पीडित परिवार तथा ती सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरु, द्वन्द्वविद्, शान्ति प्रक्रिया विज्ञ, मानव अधिकारकर्मी, नागरिक समाज, आम संचारका माध्यम समेतका सरोकारवालाहरु समेतका १३० जनाको  उपस्थिति रहेको थियो ।

कार्यशालाको संचालन आयोगका उपसचिव श्री ज्योती श्रेष्ठले गर्नु भएको र स्वागत मन्तव्य तथा उद्देश्य माथि प्रकाश पार्ने काम आयोगका सहसचिव श्री कविराज पौडेलले गर्नु भएको थियो ।

तत्‌पश्चात  आयोगद्वारा बार्षिकरुपमा प्रकाशन हुने "सत्यको खोजी" जर्नल वर्ष ७ अंक-१ आयोगका अध्यक्षले विमोचन गर्नु भएको थियो । उक्त जर्नल कार्यशालामा सहभागीहरुलाई वितरण समेत गरिएको  थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को तेस्रो संशोधन ऐन अनुरुप‌को नियमावली को प्रारम्भिक खाका र सो सम्बन्धी कोष सन्चालन निमावलीको मस्यौदामा समावेश गर्नु पर्ने विषयलाई छलफलमा आयोगका सहसचिव श्री पुजा खत्रीले राख्नु भएको थियो ।

संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरुको विषयमा आयोगका सचिव श्री खेमराज ज्ञवालीले नियमावली, कोष नियमावली, कार्य योजना, संगठन तथा व्यवस्थापन सर्वेक्षण समेतका विषयहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पीडित परिवार र सरोकारवाला सहभागीरुको तर्फबाट भीम बहादुर बस्नेत, शम्भु कटुवाल, हरिकृष्ण महर्जन, तारा बहादुर सुनवार, जमुना रोका, शंकर बुढाथोकी, तन कुमारी गुरुङ, लक्ष्मी कोईराला, केशव खनाल, विमला घिमिरे, रुवी श्रेष्ठ, हिरा कुमारी शर्मा, निशा न्यौपाने, विना चौधरी र जनकराज थापा समेतले आयोगलाई आलोचनात्मक समर्थ रहेको, आयोगको काम हेरेर आफूहरु अगाडि बढ्ने र आयोगलाई पीडितले न्याय पाउने गरी कार्य गर्न सुझाव दिनु भयो । साथै नियमावली समेतको विषयमा आयोगमै उपस्थित भई व्यक्तिगत र संस्थागत रुपमा सुझाव दिने प्रतिवद्धता जनाउनु भयो ।

अथितिज्यूहरु श्री शान्तलाल मुल्मी, श्री सुवोधराज प्याकुरेल, प्रा.डा. वरिष्ठ अधिवक्ता श्री विजय प्रसाद मिश्र, श्री शर्मीला त्रिपाठीले आयोगको नियमावली, कोष नियमावली, कार्ययोजना, संगठन तथा व्यवस्थापन संर्वेक्षण लगायतका विषयमा आफूहरुले आयोगलाई सुझाव दिने र ती विषयहरुमा विज्ञ समूहको समेत सुझाव लिई अगाडि बढ्न सुझाव दिनु भयो । आयोगका पदाधिकारीहरुले कुराबाट होइन कामबाट आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिनु भयो । पूर्व सदस्य, राष्ट्रिय मानव अधिकार आयोग तथा बरिष्ठ मानव अधिकारकर्मी श्री गौरी प्रधानले आफू कार्यशालामा उपस्थित हुन नसके पनि इमेल मार्फत महत्वपूर्ण सुझाव दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष श्री लीला देवी गडतौलाले कार्यशालामा सहभागी भई सुझाव दिनु भएकोमा आभार व्यक्त गरी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । आयोगको नियमावली, कोष नियमावलीको मस्यौदा तयार गरी नेपाल सरकार समक्ष छिटो भन्दा छिटो सिफारिस गर्नु पर्ने जिम्मेवारी रहेकोले सो अगावै पीडित तथा सरोकारवालाहरुको सुझावका आधारमा अन्तिम रुप दिने योजना रहेको छ । आयोगको कार्य योजना निर्माणको क्रममा रहेकोले सो विषयमा पनि सुझाव दिन अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भयो ।