बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस २०१७ का सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं,

भदौ १४, २०७४

बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस-२०७४ (International Day of the Victims of Enforced Disappearances- 2017) को सन्दर्भमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले यही अगष्ट ३० तारिख अर्थात भदौ १४ गतेका दिन राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय श्री अनुपराज शर्माको प्रमुख अतिथ्यता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा माननीय महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता यस आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकले गर्नुभएको थियो।

बेपत्ता पीडित परिवार, मानव अधिकारकर्मी, कानून व्यबसायी, न्याय तथा मानव अधिकारका क्षेत्रमा कार्यरत संघ/संस्था, पत्रकार तथा आयोगका पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै यस आयोगका सचिव श्री नृपध्वज निरौलाले कार्यक्रमबाट आयोगलाई अगाडि बढ्न थप पृष्ठपोषण प्राप्‍त हुने बताउनु भयो।कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य प्रा.डा श्री विष्णु पाठकले यस आयोगले हालसम्म सम्पादन गरेका कामहरुको बारेमा जानकारी गराउनु भयो।राष्ट्रिय मानव अधिकार आयोगका निमित्त सचिव श्री यज्ञप्रसाद अधिकारीले राष्ट्रिय मानव अधिकार आयोग र वेपत्ता छानविन आयोग वीचको सम्वन्ध, समन्वय र सहयोगका क्षेत्रहरुवारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा बेपत्ता पीडित परिवारका सदस्यहरु एवं संक्रमाणकालीन न्यायसँग सम्बन्धित विभिन्‍न विज्ञहरुसँग खुला छलफल भएको थियो।उक्त छलफलमा पीडित परिवारहरुले आफूहरुले भोग्नु परेको समस्याहरु उजागर गर्दै आफूहरुलाई छिटो भन्दा छिटो सत्य तथ्यको जानकारी गराई राज्यबाट राहत दिइनु पर्ने कुरामा जोड दिनु भएको थियो। वेपत्ता परिवार राष्ट्रिय संजालका अध्यक्ष श्री रामकुमार भण्डारी, द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष श्री सुमन अधिकारी, र जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री एकराज भण्डारी समेतले पीडितहरुसँग समन्वय गर्दै आयोगको काम कारवाही समयमै सम्‍पन्‍न गरियोस भन्ने आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय श्री अनुपराज शर्माले आयोगको समयावधी थोरै भए पनि आयोगलाई सुदृढ बनाई सवै मिलि समस्याको समाधान गर्नु पर्ने बताउनुभयो। त्यसैगरी माननीय महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीले आरोपित व्यक्ति जोसुकै भए पनि संकलित प्रमाणका आधारमा आयोगको सिफारिस अनुसार महान्यायाधिवक्ताले अभियोजन गर्ने बताउनु भयो।

उक्त कार्यक्रममा बोल्दै सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष श्री सूर्यकिरण गुरुङ्गले सत्य निरुपण तथा मेलमिलाप आयोगले गरेको कार्यप्रगतीका बारेमा प्रकाश पार्नुका साथै समयमै ऐन नियमको संसोधन भई अन्य आवश्यक ऐन जारी हुनुपर्ने बताउनु भयो। त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकले कार्यक्रमको अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नहरुको सम्वोधन गरी आयोग स्वतन्त्र भएकोले आयोगले बेपत्ता पारिएका व्यक्तिहरुको सार्वजनिकिकरण गर्ने, आरोपित व्यक्तिलाई कारवाहीको सिफारिस गर्ने र पीडितलाई परिपूरणको सिफारिस गर्ने बताएर उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

संयुक्त राष्ट्र संघले सन् २०१० मा बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गरेको सन्दर्भमा यस आयोगले पनि नेपालमा भएको सशस्त्र द्वन्द्वको अविधमा बेपत्ता पारिएका व्यक्तिहरुको स्मरण गर्दै सन् २०१५ देखि अगस्ट ३० लाई यो दिवसको रुपमा मनाउंदै आएको छ ।