डडेल्धुरा र डोटी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम डडेल्धुरा जिल्ला

मिति २०८१।०२।१६ गते सुदुरपश्‍चिम प्रदेशको डडेल्धुरा जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।  जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख श्री गगनसिंह भण्डारीको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा अजयमेरु गाउँपालिकाका अध्यक्ष श्री उमेश प्रसाद भट्ट तथा सोही गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष, नवदुर्गा गाउँपालिकाका अध्यक्ष श्री लक्ष्मी प्रसाद अवस्थी, गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष श्री ज्ञानु सेटी देउपा, परशुराम नगरपालिका वडा नं. ४,७, र १० को वडा अध्यक्षज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतहरु नि.प्रमुख जिल्ला अधिकारी श्री कृष्णानन्द जोशी, जिल्ला न्यायाधीवक्ता श्री फटिकराज मुडभरी तथा आयोगका कर्मचारी सहित ४७ जनाको उपस्थिती थियो।

सो कार्यक्रमको सञ्‍चालन आयोगका नायब सुब्बा श्री शरद कुमार पौडेलले गर्नु भएको थियो भने शा.अ. रोशन कुमार घिमिरेले उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो तथा उपसचिव श्री मुना भट्टराईले “स्थानीय तहका जनप्रतिनिधिसंग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी  विषयको कार्यपत्र प्रस्तुत गर्नु भयो ।

अन्तरक्रियाका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारलाई आयोगबाट भएको सिफारिस यथासिघ्र कार्यान्वयन गर्न तथा राहत सिफारिस हुन बाँकी परिवारको हकमा आयोगमा यथासक्य चाँडो पदाधिकारी नियुक्त गरी सिफारिस गर्ने र छानविन कार्यलाई छिट्टै टुङ्गोमा पुर्‍याउन सबै स्थानीय तहका जनप्रतिनिधिहरूको एक मत रहेको थियो । बेपत्ता परिवारलाई राहत प्रदान गर्ने शिर्षकमा स्थानीय तहलाई बजेट आइदिएमा बेपत्ता परिवारलाई उपलब्ध गराउनुपर्ने राहत स्थानीय निकायले प्रदान गर्ने अवसर मिल्ने विषयमा सबैको एकमत रहेको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख श्री गगनसिंह भण्डारीले आयोगका कर्मचारीहरुले कार्यक्रममा उठेका विषय आयोग समक्ष पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो साथै पीडित परिवारले न्याय पाउने सम्वन्धमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकोले सबैको समन्वयात्मक भूमिका आवश्यक पर्ने धारणा व्यक्त गर्नु भयो ।अन्त्यमा स्थानीय तह र आयोगको बीच छानविन कार्य र पीडितलाई प्रदान गर्नुपर्ने सेवा, सुविधा, परिपूरणमा सहयोग र समन्वय गर्ने प्रतिवद्धताको लागि उपस्थित स्थानीय जनप्रतिनिधिहरु लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रमको अध्यक्षता गर्नु भएका आयोगका उपसचिव मुना भट्टराईले कार्यक्रम समापन गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रम डोटी जिल्ला

मिति २०८१।०२।१८ गते सुदुरपश्‍चिम प्रदेशको डोटी जिल्लामा स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

डोटी जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अर्यालको अध्यक्षतामा गरीएको उक्त अन्तरक्रिया कार्यक्रममा डोटी जिल्लाका समन्वय प्रमुख श्री लक्ष्मण बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अर्याल, दिपायल सिलगढी नगरपालिकाका कार्यवाहक नगरप्रमुख श्री नरेश मलासी, वडीकेदार गाउँपालिका का अध्यक्ष श्री डम्बरी विष्ट(कलेल), प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्षहरु, निमित्त जिल्ला न्यायाधीवक्ता श्री गोविन्द बहादुर चन्द लगायतका आयोगका कर्मचारी सहित २९ जनाको उपस्थिती थियो ।

सो कार्यक्रमको सञ्‍चालन आयोगका नायब सुब्बा श्री शरद कुमार पौडेलले गर्नु भएको थियो भने शाखा अधिकृत श्री रोशन कुमार घिमिरेले उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो तथा उपसचिव श्री मुना भट्टराईले “स्थानीय तहका जनप्रतिनिधिसंग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी विषयको कार्यपत्र प्रस्तुत गर्नु भयो ।

अन्तरक्रियाका क्रममा डोटी जिल्लामा द्वन्द्वको क्रममा धेरै व्यक्तिहरु बेपत्ता हुनुहुन्छ, उक्त बेपत्ता परिवारको उजुरीहरु स्थानीय निकायमा समेत छन् । जिल्लामा प्रशासन कार्यालयमा समेत उजूरी आउने गरेको छ । यसतर्फ आयोगको कार्यक्षेत्र समेत भइदिएमा वा आयोगको एक प्रतिनिधि हरेक जिल्लामा भईदिए पीडित परिवारको लागि केही राहत हुनेथियो साथै स्थानीय तहबाट बेपत्ता परिवारलाई राहत सहुलियत सुविधाको लागि आवश्यक समन्वय र निर्वाह गर्नुपर्ने भूमिकाको लागि स्थानीय तह तयार रहेको कुरा उपस्थित सहभागीहरुबाट व्यक्त भएको थियो ।

उक्त कार्यक्रमको अन्त्यमा डोटी जिल्लामा द्वन्द्वबाट बेपत्ता हुनुभएका परिवारजनले जिल्ला प्रशासन कार्यालयमा दायर गर्नु भएको उजूरीलाई कानुनले तोकिएको परिधिमा रही आयोगमा पठाउने छौँ भनी सबैलाई धन्यबाद दिँदै प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अर्याल ज्यूले कार्यक्रमको समापन गर्नुभयो।