आयोगद्वारा “वेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस” मनाइयो


मिति २०७६ साल भाद्र १३ गते तदनुसार सन् २०१९ अगष्ट ३० तारिखका दिन वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा वेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस मनाइयो । सिंचाई विभागको सभाहलमा आयोजित कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिका पीडित परिवारजन, नेपाल सरकारका उच्च अधिकृत, सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरु, मानवअधिकारकर्मी, न्यायकर्मी, सञ्चारकर्मी लगायत करिब १५० जनाको उपस्थिति रहेको थियो ।

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री भानु भक्त ढकालज्यूको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको उक्त कार्यक्रममा माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल, प्रतिनिधि सभा, न्याय कानून तथा मानव अधिकार समितिका माननीय सभापती श्री कृष्ण भक्त पोखरेल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री नृपध्वज निरौला, सत्य निरुपण तथा मेलमिलाप आयोगका  सचिव श्री ऋषि राजभण्डारीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा आयोगका सहसचिव श्री ईश्वरीप्रसाद ढकालले आयोगको गठन, कार्यप्रगति, समस्या एवं चुनौतिका सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त अन्तरर्क्रिया कार्यक्रममा पीडित संघ संस्थाका प्रतिनिधि एवं पीडित परिवारका सदस्यहरुले आयोगको पदाधिकारी छनौटमा भएको ढिलाइ तथा सो विषयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका समाचार, संक्रमणकालनीन न्याय सम्बन्धी ऐन संशोधनका सम्बन्धमा पीडितहरुको भावन समेटनु पर्नेमा जोड दिनु भयो ।साथै उहाँहरुले संक्रमणकालीन न्याय निरुपणमा भएको ढिलाई प्रति असन्तुष्टि व्यक्त गर्दै आयोगको अनुसन्धान कार्यमा पीडित मैत्री व्यवहार, पीडित परिवारको सहभागिता, पीडित परिचय-पत्र लगायत समग्र आयोगको काम कारवाहीको बारेमा चासो राख्नु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले अदालतको फैसलाबमोजिम नै पीडितमैत्री कानून बन्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री भानुभक्त ढकालले पीडितहरुसँगको परामर्शविना कानून संशोधन नगरिने, आयोगका पदाधिकारीको छनौटमा सरकारको कुनै हस्तक्षेप नहुने कुरा स्पष्ट पार्नु भयो साथै उहाँले द्वन्द्वपीडितको मुद्दालाई न्यायपूर्ण ढंगबाट निरुपण गरिने र यसमा राजनीतिकरण हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

आयोगका श्रीमान सचिव कृष्णजीवी घिमिरेको अध्यक्षतामा रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आयोगले पदाधिकार विहिन अवस्थामा पनि उजूरी फाईल व्यवस्थापनको सम्बन्धमा नियमित रुपमा पीडित संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल र समन्वय गरिएको, उजूरीका सम्बन्धमा विभिन्न संस्था निकाय र संचार माध्यममा रहेका विवरणहरु संकलन गरिनुका साथै आयोगको कार्यक्षेत्रमा पर्ने संक्रमणकालीन न्यायका विविध बिषयमा अध्ययनहरु भईरहेको बारेमा समेत जानकारी गराउँनु भयो । पीडितलाई न्याय दिलाउने कार्यमा आयोग निरन्तर रुपमा कटिवद्ध रहेको कुरा व्यक्त गर्दै कार्यक्रममा पाल्नु हुने प्रमुख अथितिज्यू, विशेष अथितिज्यूहरु, मानव अधिकारकर्मी, पीडित संघ संस्थाका प्रतिनिधि एवं पीडित परिवारजन लगायत कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भयो ।