बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय विशाल खड्कासँग भेटघाट सम्पन्न ।

मिति २०७८ साल माघ महिनाको २० गते वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग पुल्चोक ललितपुरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री विशाल खड्काज्यूसँग आयोगका पदाधिकारीज्यूहरुबाट छलफल कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यूले आयोगले हालसम्म गरेका काम कारवाहीको सम्बन्धमा प्रकाश पार्नुभयो। सोही क्रममा आयोगका सदस्यज्यूहरु श्री विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह र श्री सरिता थापाज्यूबाट आयोगको कार्य सम्पादनको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको पीडित परिवारलाई दिने परिपूरण सम्बन्धमा प्रदेश सरकारले गर्नुपर्ने सहजीकरणको विषयमा माननीय मन्त्रीज्यूलाई अवगत गराउनुभयो। सो छलफलका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको परिवार पहिचान गरी आयोगबाट परिचयपत्र उपलब्ध गराइरहेको सन्दर्भमा परिचय पत्र बाहक पीडित परिवारलाई राज्यबाट अभिभावकको भूमिका निर्वाह गरी उनीहरुलाई राहत तथा परिपूरण दिनको लागि स्थानीय तथा प्रदेश सरकारले के-कस्तो सहयोग गर्न सक्छ, भन्ने बारेमा उल्लेख गर्नुभयो । सोही क्रममा आयोगका सदस्यज्यूहरुबाट बागमती प्रदेश सरकारले वेपत्ता पारिएका व्यक्तिहरुका आवास नभएका पीडित परिवारलाई घर निर्माण गर्नका लागि तथा द्वन्द पीडित परीवारलाई जिविकोपार्जनको लागि केही मात्रामा काठ उपलब्ध गराउने, स्वास्थ्य विमाको व्यवस्था गर्ने, प्रदेश प्रहरी ऐनमा यी परिचयपत्र बाहकको लागि रोजगारीमा निश्चित आरक्षण गर्ने, प्रदेश लोकसेवा आयोगबाट कम्तिमा १० वर्षको लागि आरक्षणको व्यवस्था, यातायातमा छुटको व्यवस्था, वेपत्ता पारिएका व्यक्तिको सम्झनामा सरकारी भवन, पुल तथा स्मृति पार्कहरुको निर्माण, स्थानिय स्तरमा रोजागरीको अवसर, प्रदेश तथा स्थानीय स्तरमा कानून निर्माण गर्ने क्रममा द्वन्द पीडितलाई दिनुपर्ने राहतको सम्बन्धमा उल्लेख गर्नुपर्ने जस्ता विषयमा माननीय मन्त्रीज्यूलाई आवश्यक सहयोग तथा समन्वयको लागि आग्रह गर्नुभयो । प्रस्तुत कार्यक्रममा आयोगका अध्यक्षज्यूबाट विशेष गरी परिपूरण सम्बन्धमा सर्वपक्षीय सहमति, राहत लिन छुट परिवारलाई राहत उपलब्ध गराउने, परिचयपत्र बाहकले पाउने सेवा सुविधा सम्बन्धमा केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वय, नीतिगतरुपमा कार्यक्रम बनाएर लागू गर्नुपर्ने लगायतका विषयहरुमा छलफल गर्नु भएको थियो। साथै, बागमती प्रदेशबाट परिपूरणको सम्बन्धमा तत्काल निर्णय भएमा यसबाट अन्य प्रदेशलाई सकारात्मक सन्देश जाने हुँदा उक्त कार्यक्रमहरु यथाशिघ्र गर्नका लागि पहल गरिदिनुहुन माननीय मन्त्रीज्यूलाई आग्रह गर्नुभयो । छलफलमा उठेका विषयहरुलाई सम्बोधन गर्नुहुँदै वागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री विशाल खड्काज्यूले द्वन्द पीडितको दुख पीडा आफूले समेत विगतमा नजिकबाट महसुस गरेको हुँदा यस्ता विषय अत्यन्त संवेदनशील  भएकोले यसलाई फरक ढंगले कार्यसम्पादन गर्नुपर्ने र यसका लागि आफूले सक्दो सहयोग तथा समन्वय गर्न आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।