बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.व.२०७९/८० को बार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८०/०५/०६ गते सम्पन्न भयो। आयोगका सचिव श्री श्यामकुमार भट्टराईज्यूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा अनुसन्धान विज्ञ समेतको उपस्थितिमा आयोगका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो। आयोगमा कार्यरत सबै शाखाका शाखा प्रमुखहरुले आ-आफ्नो शाखाले सम्पादन गरेका कार्यहरुको प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रशासन तथा योजना शाखाका उपसचिव श्री ज्योती श्रेष्ठले आगामी आर्थिक बर्षको कार्यक्रम तथा त्यसलाई कार्यान्वयन गर्ने कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सिफारिस तथा परिपूरण शाखाका उपसचिव श्री राधिका सुवालले गर्नुभएको आयोगको बार्षिक प्रतिवेदनको प्रस्तुतीकरण उपर छलफल गरी सो प्रतिवेदनलाई अन्तिम रुप प्रदान गरिएको थियो। आयोगको छानविन कार्यमा संलग्न कर्मचारीहरुबाट आ-आफ्नो प्रदेशका उजुरी छानविन सम्बन्धी विवरण र कार्य सम्पादन गर्दा आइपरेका समस्या तथा समाधानका उपायहरु समेत प्रस्तुत गरिएको थियो। आयोगका सहसचिव श्री कविराज पौडेलले सो सन्दर्भमा छलफलमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नु भयो। आयोगको बेरुजु शून्य पार्ने कार्यमा प्रत्यक्ष संलग्न तीन जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गर्ने घोषणा सहित आयोगका सचिव श्री श्यामकुमार भट्टराईज्यूले आयोगको कार्य सम्पादनमा सक्रिय रहने कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। सो क्रममा उहाँले आयोगका चुनौती र आगामी कार्यदिशा सम्बन्धमा कर्मचारीहरुलाई निर्देशनात्मक मन्तव्य दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो।