रुपन्देही र प्यूठान जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अन्तरक्रिया कार्यक्रम रुपन्देही जिल्ला

मिति २०८०।१०।१२ गते लुम्बिनी प्रदेशको रुपन्देहीमा  स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा  जिल्ला समन्वय समितिका उपप्रमुख श्री राम कृपाल धोबी,  सैनामैना नगरपालिकाका नगर प्रमुख श्री फणेन्द्र प्रसाद शर्मा, कञ्चन गाउँपालिकाका अध्यक्ष श्री नवराज ढकाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख श्री सावित्रादेवी अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख श्री जागेश्वरी देवी चौधरी, शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष श्री शान्तादेवी ज्ञवाली, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष श्री सुनिता चौधरी,  कञ्चन गाउँपालिकाका उपाध्यक्ष श्री मौसमी थापा मगर, विभिन्न पालिकाका वडा अध्यक्षहरु लगायतका स्थानीय तहका जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतहरू  तथा अन्य कर्मचारीहरु समेत ४३ जनाको उपस्थिति रहेको थियो । यस कार्यक्रममा आयोगको तर्फबाट उपसचिव श्री खिमा कुमारी पोखरेलले आयोगको काम कारवाही, परिपूरण तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई भिविन्न स्थानीय तहले गरेको सम्बोधन सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण  आयोगका शाखा अधिकृत द्वय श्री भिष्म आचार्य र श्री रोशनकुमार घिमिरेले गर्नु भएको थियो।

अन्तरक्रियाका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारको पुरानो घाउलाई धेरै नबल्झाई संक्रमणकालिन न्याय सम्बन्धी कानूनलाई पीडित मैत्री हुने गरी परिमार्जन गरेर आयोगमा चाँडो पदाधिकारी नियुक्त गरी छानविन कार्यलाई छिट्टै टुङ्गोमा पुर्‍याउन सबै स्थानीय तहका जनप्रतिनिधिहरूको एक मत रहेको थियो । त्यसका लागि स्थानीय तहबाट हुनुपर्ने समन्वय र निर्वाह गर्नुपर्ने भूमिकाको लागि स्थानीय तह तयार रहेको कुरा उपस्थित सहभागीहरुबाट ब्यक्त गरिएको थियो।

कार्यक्रमको समापनमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री उमाकान्त चपाईले आयोगका कर्मचारीहरुले कार्यक्रममा उठेका विषय आयोग समक्ष पुर्‍याउने विश्वास ब्यक्त गर्दै पीडित परिवारले न्याय पाउने सम्वन्धमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकोले समन्यात्मक भूमिका निर्वाह गर्न स्थानीय तहलाई आग्रह गर्नु भएको थियो।

अन्तरक्रिया कार्यक्रम प्यूठान जिल्ला

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख श्री धरम बहादुर जि.सी. को प्रमुख आथित्यतामा मिति २०८०।१०।१४ गते स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।प्यूठान जिल्लाका  प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद अर्यालको अध्यक्षतामा जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमको  सन्चालन आयोगका शाखा अधिकृत श्री भिष्म आचार्यले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य आयोगका शाखा अधिकृत श्री रोशनकुमार घिमिरेले राख्नु भएको भयो।कार्यक्रममा आयोगका उपसचिव श्री खिमा कुमारी पोखरेलले आयोगको काम कारवाही, परिपूरण तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई विभिन्न स्थानीय तहले गरेको सम्बोधन सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

यस कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख श्री टेक प्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख श्री दुर्गा रेग्मी, मल्लरानी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर खड्का, माण्डवी गाउँपालिकाका अध्यक्ष श्री नमराज अधिकारी, प्यूठान नगरपालिकाका उपप्रमुख श्री देवन्द्र वर्मा, ऐरावती गाउँपालिकाका उपाध्यक्ष श्री कृष्ण प्रसाद श्रेष्ठ, सरुमारानी गाउँपालिकाका उपाध्यक्ष श्री बसन्ता खड्का, झिमरुक गाउँपालिकाका उपाध्यक्ष श्री प्रमोद पोखरेल लगायतका स्थानीय तहका वडा अध्यक्ष समेतका जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतहरू समेत ४२ जनाको उपस्थिति रहेको थियो।

अन्तरक्रियाका क्रममा द्वन्द्वका क्रममा बेपत्ता भएका केही व्यक्तिहरुको परिवारले सूचना थाहा नभएर तथा उजुरी दिने प्रकृया थाहा नभएर उजूरी दिन छुट भएकोमा के कसरी आयोगमा निवदेन दिन सकिन्छ भन्ने जिज्ञासा व्यक्त गर्नुको साथै वेपत्ता पारिएका व्यक्तिहरुको बारेमा उचित निर्णय नभएको कारणले स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधाबाट वेपत्ता पारिएका व्यक्तिहरुको परिवार वञ्चित रहेको विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख श्री धरम बहादुर जि.सी. ले सबैजसो स्थानीय तहका जनप्रतिनिधीहरुको बेपत्ता पारिएका व्यक्तिका परिवारलाई स्थानीय तहबाट सुविधा ∕  राहत ∕  सम्मान दिने विषयमा सकारात्मक धारणा रहेकोले आयोग र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो।कार्यक्रमको अध्यक्षता गर्नु भएका प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद अर्यालले कार्यक्रमको अन्त्यमा स्थानीय तह र स्थानीय प्रशासनबाट आयोगलाई सकारात्मक सहयोग र समन्वय हुने विषयमा जोड दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।