धादिङ्ग र मकवानपुर जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अन्तरक्रिया कार्यक्रम धादिङ्ग जिल्ला

मिति २०८०।१०।०९ गते बागमती प्रदेशको धादिङ्गमा स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानबिन कार्य र परिपूरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

बागमती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा रहेका स्थानीय तहका जिल्ला समन्वय प्रमुख/उप प्रमुख, जिल्ला समन्वय अधिकारी, स्थानीय नगरपालिका र गाउँपालिकाका प्रमुख/उप प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी प्रमुख एवं अन्य सरोकारवाला निकाय तथा कार्यालयका राष्ट्र सेवक र यस आयोगमा कार्यरत कर्मचारीहरु समेत ५० जनाको सहभागिता रहेको थियो। आयोगका छानविन महाशाखा प्रमुख सहसचिव श्री कृष्णराज पन्तको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा आयोगका उपसचिव श्री सन्तोष कुमार गिरीले आयोगबाट भएका कामकारवाही र परिपूरण बारेमा जानकारीमुलक प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन आयोगका शाखा अधिकृत श्री चुडामणी भण्डारीले गर्नु भएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा छलफलको क्रममा सहभागिहरुको तर्फबाट निलकण्ठ नगरपालिकाका प्रमुख श्री भिम प्रसाद ढुंगानाले जिज्ञासा सहितको मन्तव्य राख्नु भयो । नगरपालिका प्रमुखहरुको महासंघका अध्यक्ष समेत रहेका नगर प्रमुख श्री ढुंगानाले धादिङ्ग जिल्लामा केही उजूरीहरु दिन छुट रहेको, आयोगले पीडित परिवारजनलाई पीडित परिचयपत्र वितरण गर्न बाँकी रहेको, आयोगले पीडित परिवारजनलाई सेवा, सुविधा, सहुलियत उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरी लेखेको पत्र कार्यान्वनय गर्न कठिनाई रहेको, संघ, प्रदेश र स्थानीय निकायहरु रहेको समन्वय ईकाई बनाई प्याकेजमा नै कार्यक्रम ल्याउनु पर्ने, पीडित परिवारजनलाई आवास तथा भूमी उपलब्ध गराउने विषयमा भूमी आयोगलाई पनि भुमिका प्रदान गरी सो आयोगसँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो । आयोगले स्थानीय तहबाट पीडितहरुको लागि सुविधा राहत प्रदान गर्न गरेको अनुरोध कार्यान्वयनको लागि स्थानीय तहमा आउने गरेका छन् । आयोगको छानविन, अनुसन्धान कार्यमा र पीडित परिवारजनलाई उपलब्ध गराउने सेवा, सुविधा, सहुलियत र परिपूरण सम्बन्धमा स्थानीय निकायहरु सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको धारणा समेत उहाँले व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा अध्यक्षता गर्नु भएका सहसचिव श्री कृष्णराज पन्तले सहभागिहरुले राखेको जिज्ञासाहरुको सम्बोधन गर्दै आगामी दिनमा पनि स्थानीय तह र आयोग बीच छानविन कार्य र पीडितलाई प्रदान गर्नु पर्ने सेवा सुविधा परिपूरणमा सहयोग र समन्वय हुनु पर्ने कुरामा जोड दिदै आयोगले पीडित परिवारजनलाई सेवा, सुविधा र सहुलियत उपलब्ध गराईदिन अनुरोध गरी लेखि पठाएको विषयहरु यथाशक्य कार्यान्वयन गरी पीडित परिवारजनलाई राहत प्रदान गर्न गराउन अनुरोध सहित कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रम मकवानपुर जिल्ला

मिति २०८०।१०।१० गते बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानबिन कार्य र परिपूरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा रहेका स्थानीय तहका जिल्ला समन्वय प्रमुख/उप प्रमुख, जिल्ला समन्वय अधिकारी, स्थानीय नगरपालिका र गाउँपालिकाका प्रमुख/उप प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, प्रमुख जिल्ला अधिकारी, सहन्यायाधिवक्त, जिल्ला न्यायाधिवक्ता, मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख र यस आयोगमा कार्यरत कर्मचारीहरु समेत ३६ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा आयोगका उपसचिव श्री सन्तोष कुमार गिरीले आयोगबाट भएका कामकारवाही र परिपूरण बारेमा जानकारीमुलक प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन आयोगका शाखा अधिकृत श्री चुडामणी भण्डारीले गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा छलफलको क्रममा निर्वाचनको कारणले सहभागीहरुले आफ्नो कार्य व्यस्तता हुँदा हुँदै पनि महत्वका साथ उपस्थित भएको उल्लेख गर्नु भएको थियो । सहभागी मध्येका जिल्ला समन्वय समिति मकवानपुरका सदस्य श्री सुर्वण गोपालीले मकवानपुर जिल्लामा केही उजूरी छुट भएको, आयोगले पीडित परिवारजनलाई सेवा सुविधा र सहुलियत उपलब्ध गराउन अनुरोध गरी स्थानीय तहलाई लेखिएको पत्र अनुसारको सुविधा प्रदान गर्न पीडित परिवारहरुसँग समन्वय भईरहेको र छानविन कार्यमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराउदै स्थानीय तहहरु आयोगलाई सहयोग गर्न प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नु भयो । त्यसै गरी हेटौडा उपमहानगरपालिकाको वडा नं. ९ का वडा सदस्य श्री विष्णु रानामगरले उक्त वडामा वेपत्ता व्यक्ति अमृत दर्नाल र पदम बहादुर दर्नाल(रंजित) को पीडित परिवारलाई दुई कोठा भएको पक्की घर निर्माण गरी जनही 1/1 वटा घर प्रदान गरिएको जानकारी गराउनु भयो । त्यसै गरी बागमती गाउँपालिकाका प्रमुख श्री सर्केश घलानले बेपत्ता पीडित परिवारहरुलाई प्रदान गर्ने सेवा सुविधा सहुलियत र परिपूरण सम्बन्धमा छलफल गरी नीति र कार्यक्रममा ल्याउने र आफुपनि द्वन्द्व पीडित भएको हुँदा राजनीतिकदल मार्फत संघ र प्रदेश तहमा पनि राजनैतिक पहल गर्ने जानकारी गराउनु भयो । प्रमुख जिल्ला अधिकारी श्री सूर्य प्रसाद सेढाईले मन्तव्य राख्ने क्रममा प्रस्तुत कार्यपत्रबाट मकवानपुर जिल्लाको बेपत्ता पीडितहरुको उजूरीको अवस्था बारे जानकारी पाएको, कार्यपत्रमा धेरै विषयहरु समेटिएका र राम्रा छन् । जिल्ला प्रशासन कार्यालय, मकवानपुर आयोगको छानविन कार्य र पीडित परिवारलाई उपलब्ध गराउने परिपूरण सम्बन्धमा सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्यमा अध्यक्षता गर्नु भएका सहसचिव श्री कृष्णराज पन्तले सहभागिहरुले राखेको जिज्ञासाहरुको सम्बोधन गर्दै आगामी दिनमा पनि स्थानीय तह र आयोग बीच छानविन कार्य र पीडितलाई प्रदान गर्नु पर्ने सेवा सुविधा परिपूरणमा सहयोग र समन्वय हुनु पर्ने कुरामा जोड दिदै आयोगले पीडित परिवारजनलाई सेवा सुविधा सहुलियत उपलब्ध गराईदिन अनुरोध गरी लेखि पठाएको विषयहरु यथाशक्य कार्यान्वयन गरी पीडित परिवारजनलाई राहत प्रदान गर्न गराउन अनुरोध सहित कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भयो ।