छानविनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोग, नेपालले आयोगमा कार्यरत कर्मचारीहरुले सम्पादन गर्नु पर्ने अनुसन्धान सम्बन्धी कामका बारेमा आधारभूत जानकारी दिनको लागि मिति २०७८।५।27 देखि 2078।05।29 गते सम्म छानविन सम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम संचालन गर्‍यो ।उक्त कार्यक्रममा आयोगका पदधिकारीहरु, सचिव, सहसचिव, अनुसन्धान  विज्ञहरु लगायत आयोगका कर्मचारीहरु सहभागिता रहेको थियो । तालिम कार्यक्रमको पहिलो दिनको पहिलो र दोश्रो सत्रमा आयोगमा परेका उजूरीको छानविन र परिचयपत्र सम्बन्धी बिषयमा आयोगका अध्यक्ष श्री युवराज सुवेदीले सहजीकरण गर्नु भएको थियो । पीडित तथा साक्षीको कागज गराउँदा बिचार गर्नु पर्ने कुराहरु सम्बन्धी बिषयमा आयोगका सदस्य श्री सरिता थापाले सत्र संचालन गर्नु गएको थियो । पीडित, उजूरीकर्ता आयोगलाई जानकारी दिने व्यक्ति र साक्षीसँगको गरिनुपर्ने व्यवहार र आयोग एवं कर्मचारीको सुरक्षा सम्बन्धी बिषयमा आयोगका सदस्य श्री सुनिल रंजन सिंहले सहजीकरण गर्नु भएको थियो ।

तालिमको दोश्रो दिनको पहिलो सत्रमा फरेन्सिक विज्ञ डा. श्री हरिहर वस्तीले एन्टिमोर्टम तथ्याङ्क संकलन तथा बिश्लेषण सम्बन्धी बिषयमा सहजीकरण गर्नु भएको थियो । व्यक्ति बेपत्ता पारिएको घटनाको अनुसन्धानका लागि पीडित तथा सरोकारवालाहरुसँगको समन्वय विषयमा आयोगका सदस्य श्री विश्वप्रकाश भण्डारीले, प्रमाणहरुको विश्लेषण, गोपनीयता सम्बन्धी बिषयमा उच्च अदालत पाटनको माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल र व्यक्ति बेपत्ता पार्ने कार्यसँग सम्बन्धित व्यक्तिको बयान सम्बन्धी बिषयमा आयोगका अनुसन्धान विज्ञ श्री कुमुद प्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

तालिमको तेस्रो तथा अन्तिम दिन डी.एन.ए. संकलन तथा शव उत्खनन् सम्बन्धी बिषयमा आयोगका फरेन्सिक विज्ञ डा. श्री रिजेन श्रेष्ठले र संक्रमणकालीन न्यायको अवधारणागत पक्ष र अन्य मुलुकमा भएका अभ्यास सम्बन्धी बिषयमा आयोगका सदस्य डा. श्री गंगाधर अधिकारीले प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा आयोगका पदाधिकारी र सहभागीहरुका बीचमा छलफल समेत भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागी कर्मचारीहरुलाई तालिमको प्रमाणपत्र बितरण गरी यस्ता कार्यक्रमहरुबाट कर्मचारीहरुको क्षमता वृद्धि हुने, आयोगको छानविन प्रकृयामा सहयोग पुग्ने, आगामी दिनहरुमा पनि यस्ता अभिमुखीकरण तालिम कार्यक्रमहरु संचालन गर्नुपर्ने सुझावका साथ सहभागीहरुलाई सक्रिय सहभागीताको लागि धन्यवाद ज्ञापन गरी आयोगका अध्यक्ष श्री युवराज सुवेदीले कार्यक्रमको समापन गर्नु भएको थियो ।