मिडिया एक्सनसँगको छलफल कार्यक्रम

आयोगका पदाधिकारीहरुसँग मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र कार्यवाहक सचिव गणेश प्रसाद घिमिरेका बीचमा मिति २०७९।०२।०६ मा एक छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा आयोगको तर्फबाट केन्द्र, प्रदेश र पालिका स्तरमा बेपत्ता पारिएका व्यक्ति वा निजका पीडित परिवारलाई नेपालको संविधान र प्रचलित नेपाल कानुन बमोजिम तत्काल सेवा सुविधा उपलब्ध गराउन लेखिएको पत्रको नमुना, बेपत्ता पारिएका व्यक्तिको प्रदेशगत, जिल्लागत र पालिका स्तरको सूचीको नमुना, आयोगबाट परिचयपत्र प्रापकले पाउने सेवा सुविधा सम्बन्धमा आयोगले गरेको निर्णयको पुस्तिका समेतका आयोगका प्रकाशनहरु मिडिया एक्सनका अध्यक्षलाई हस्तान्तरण गरियो। उक्त अवसरमा अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया एक्सन नेपाल रिसर्चमा केन्द्रित भएको र पत्रकारिता व्यवसायलाई जवाफदेहिपूर्ण बनाउने कार्यमा यसको महत्वपूर्ण भूमिका रहने, पत्रकारिकता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गरिरहेको, सशस्त्र द्वन्द्वको क्रममा पत्रकारहरु पनि बेपत्ता भएको, मिडिया एक्सनले आयोगका कार्यहरु नजिकबाट निहाली रहेको र धेरै विषयमा मिडिया एक्सन र आयोगका बीचमा सहकार्य हुनसक्ने बताउनु भयो।
कार्यक्रममा आयोगका सदस्य डा. गंगाधर अधिकारीले आयोगमा ३२८८ उजुरी परेकोमा ४४ जना व्यक्तिहरु फेला परेको, २४८२ व्यक्तिका हकमा आयोगबाट विस्तृत छानविन भइरहेको, आयोगबाट पीडित पहिचान गरी १३०८ परिवारका ३९५३ व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको, आयोग पीडक पहिचान गर्ने र पीडितालाई परिपूरण प्रदान गर्नको लागि सरकारलाई सिफारिस गर्ने चरणमा पुगेको जानकारी गराउनु भयो।सदस्य सुनिल रंजन सिंहले क्षेत्रगत रुपमा विभाजन गरी आयोगका चार सदस्यको संयोजकत्वमा अनुसन्धान टोली गठन गरी उजुरी उपर अनुसन्धानको कार्य जारी रहेको जानकारी गराउनु भयो। सदस्य सरिता थापाले मिडिया एक्सन सँगको छलफल कार्यक्रमबाट आफू उत्साही भएको, साविकमा बेपत्ता पारिएका पीडित परिवारले प्रतिपरिवार रु.१० लाखका दरले राहत पाएकोमा हाम्रो छानविनबाट त्यस्तो राहत नपाएका ५३७ पीडित परिवारलाई साविकमा दिए बमोजिमको राहत रकम उपलब्ध गराउन नेपाल सरकार समक्ष लेखि पठाएकोमा नेपाल सरकारबाट त्यस्तो रकम प्रदान गर्न थालिएको बताउँदै सबै तहका सरकारले पीडितलाई दिनुपर्ने सेवा सुविधा प्रदान गर्न आयोगका तर्फबाट लेखि पठाएको जानकारी गराउनु भयो। आयोगका सदस्य विश्वप्रकाश भण्डारीले आयोगबाट सत्य अन्वेषणको लागि छानविन तथा अनुसन्धानको कार्य भइरहेको, आयोगबाट पीडित पहिचान गरी परिचयपत्र वितरणको कार्य तिब्र गतिमा भइरहेको, पीडक पहिचानको लागि पत्राचार सुरु भइसकेको, केही समय भित्र नै पीडित पहिचान भइसकेका परिवारलाई परिपूरणको सिफारिस गरिने जानकारी गराउनु भयो।
कार्यक्रमको अन्त्यमा छलफलमा उठेका कुराहरुमा समेत सम्बोधन गर्दै आयोगका अध्यक्षले आयोगको काम कारवाही द्रुत गतिमा सम्पादन भइरहेकाले आयोगलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न आयोग दत्तचित्तभई लागि परेको बताउनु भयो। आयोगबाट मुलुकमा सम्बत् २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने, पीडक पहिचान गर्ने कार्यको थालनी भइसकेको, आयोगबाट पीडित पहिचान गरी परिचयपत्र प्राप्त पीडित वा निजका परिवारहरुलाई नेपालको संविधान र प्रचलित कानुन बमोजिमको सेवा सुविधा तत्काल उपलब्ध गराउने प्रयोजनको लागि योजनाबद्ध ढङ्गले कार्यक्रम लागू गर्न केन्द्र प्रदेश र पालिका स्तरमा पत्राचार भइरहेको, आयोगबाट भइरहेका काम कारवाहीहरुको जानकारी गराउँदै परिचयपत्र प्राप्त पिडित वा निजका पीडित परिवारलाई प्रदान गरिने परिपूरणका सम्बन्धमा भएको तैयारी र विगतमा कुनै क्षतिपूर्ति नपाएका पीडित परिवारलाई छुट राहत रकम प्रदान गर्न गरिएको सिफारिस रकमका सम्बन्धमा भएका काम कारवाहीहरु लगायत आयोगले आफ्नो काम कारवाहीका सम्बन्धमा राज्यका विभिन्न निकायहरुबाट राखेको अपेक्षा समेतको बारेमा जानकारी गराउनु भयो।