संक्रमणकालीन न्यायका सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम,२०८० सम्पन्न

यस आयोगको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत संक्रमणकालीन न्यायको सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम राष्ट्रिय समाचर समितिको सभाहलमा मिति २०८० चैत्र २७, २८ र २९ गते सम्पन्न भयो।आयोगका कर्मचारीहरुलाई पीडितमैत्री वातावरणमा कार्य सम्पादन गर्नका लागि सीप, क्षमता, दक्षता विकासको लक्ष्य राखिएको उक्त कार्यक्रमको पहिलो दिनको पहिलो र दोस्रो सत्र संक्रमणकालीन न्यायको अवधारणा, अन्य मुलुकमा भएका अभ्यास, नेपालमा संक्रमणकालीन न्यायको सन्दर्भ र अवस्था विषयमा रहेको थियो जस्को सहजीकरण पूर्व नायव महान्यायधिवक्ता श्री कृष्णजिवी घिमिरेले गर्नुभएको थियो ।सोही दिनको तेस्रो सत्रमा श्री कुमुद प्रसाद शर्माले प्रमाण संकलन र पीडितको गोपनीयताको विषयमा जानकारी गराउनु भएको थियो।

 

कसूर पीडित सम्वन्धमा नेपालको संवैधानिक र कानूनी व्यवस्थामा केन्द्रित रहेको दोस्रो दिनको पहिलो र दोस्रो सत्रको प्रस्तुती नायब महान्यायधिवक्ता श्री संजिवराज रेग्मीको रहेको थियो जस्मा कसूर पीडित सम्बन्धी अवधारणा र नेपालको संवैधानिक र कानूनी व्यवस्था र पीडित सम्बन्धी सर्वोच्च अदालतको दृष्टिकोण सम्बन्धमा प्रकाश पार्नु भएको थियो भने दोस्रो दिनको तेस्रो सत्रमा मनोपरामर्शविद श्री सुनिता श्रेष्ठले पीडितका लागि मनोसामाजिक सहयोग सम्बन्धमा प्रस्तुती गर्नु भएको थियो।

तेस्रो दिनको पहिलो सत्रमा द्वन्द्व पीडित अभियन्ता श्री सुशिला चौधरीले व्यक्ति बेपत्ता पारिएका घटनाको छानविनका लागि पीडितसँग गर्नुपर्ने समन्वय  र व्यवहारका विषयमा जानकारीमुलक धारणा राख्नु भयो। पीडितको माग र अपेक्षाको सम्बोधन तथा परिपूरण र बेपत्ता पारिएका व्यक्तिको छानविनको क्रममा पीडितसँग गरिने व्यवहार अनुभव र सिकाइका विषयमा तेस्रो दिनको दोस्रो सत्रमा आयोगका सहसचिव श्री कविराज पौडेलको प्रस्तुतिकरण रहेको थियो ।आयोगका सचिव श्री लोकराज पराजुलीले सहजीकरण गर्नु भएको तेस्रो दिनको तेस्रो सत्र संक्रमणकालीन न्याय सम्बन्धी नेपालको कानूनमा पीडित संरक्षणकारी व्यवस्था सम्बन्धी रहेको थियो।

तालिम कार्यक्रमको अन्तमा तीन दिनको तालिमबाट भएको सिकाइ र उपलब्धी सम्बन्धमा आयोगका छानविन महाशाखाका महाशाखाप्रमुख सहसचिव श्री कृष्णराज पन्तले सिकाइ उपलब्धीमूलक रहको धारणा ब्यक्त गर्नु भयो। संक्रमणकालीन न्यायको सन्दर्भमा सबै सरोकारवालाहरुले पीडितमैत्री ब्यवहारको अवलम्वन गर्नुपर्ने विषयलाई विशेष ध्यान दिनुपर्ने विषयमा जोड दिदै आयोगमा कार्यरत सबै कर्मचारीहरुले पीडितमैत्री व्यवहार गर्नु पर्ने निर्देशन सहित आयोगका सचिव श्री लोकराज पराजुलीज्यूबाट कार्यक्रमको समापन भएको थियो।